बरहथवामा गोली चलाउने वरिष्ठ हवल्दारलाई सेवाबाट हटाउन सिफारिस

न्यूज डेस्क     २०८० माघ ३, बुधबार ०७:२७ बजे मा प्रकासित


जनकपुरधाम । सर्लाहीको बरहथवामा पुस २० मा भएको घटना छानबिन गर्न गठित समितिले प्रतिवेदन बुझाएको छ । समितिका संयोजक सहसचिव थानेश्वर गौतमले आइतबार उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।गृह मन्त्रालयको नीति योजना अनुगमन तथा मूल्याङ्कन महाशाखाका सहसचिव गौतम नेतृत्वको समितिले प्रतिवेदन बुझाएको गृह प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए । उनले भने, ‘समितिबाट प्रतिवेदन प्राप्त भएको छ, मन्त्रीज्यूले त्यसलाई कार्यान्वयन गर्छु भन्नुभएको छ ।’

बरहथवामा प्रहरीले चलाएको गोली लागेर जयशंकर शाहको मृत्यु भएको थियो । समितिले गोली प्रहारमा संलग्न वरिष्ठ हवल्दार सोनेलाल यादवलाई सेवाबाट हटाउन सिफारिस गरेको छ । इलाका प्रहरी कार्यालय बरहथवाको हवल्दार मेजर पदमा कार्यरत सोनेलालले गोली प्रहार गरेको छानबिन समितिको निष्कर्ष छ ।वरिष्ठ हवल्दार यादवलाई भविष्यमा सरकारी सेवामा अयोग्य नठहरिनेगरी सेवाबाट हटाउन छानबिन समितिले सिफारिस गरेको गृह मन्त्रालयका एकजना उच्च अधिकृतले बताए ।

 

छानबिन समितिले इलाका प्रहरी कार्यालय बरहथवामा कार्यरत डिएसपी गंगा थापालाई सरुवा गर्न सिफारिस गरेको छ । समितिको सिफारिसको आधारमा प्रहरी प्रधान कार्यालयले थापालाई काज सरुवा गरेर उनको स्थानमा मुक्तिनाथ सापकोटालाई पठाउने निर्णय गरेको छ ।नगर अस्पताललाई स्तरोन्नती गरेर प्रदेशलाई हस्तान्तरण गर्ने विषयमा विवाद हुँदा भिड नियन्त्रण गर्न खटिएका सुरक्षाकर्मीले गोली चलाएका हुन् । जयशंकरको मृत्युपछि आन्दोलनरत पक्ष र स्थानिय प्रशासनबिच ११ बुँदे सहमति भएको छ ।

सहमति सँगै पाँचदलिय गठबन्धनले आन्दोलनका कार्यक्रम स्थगित गरेका थिए । नेपाली कांग्रेस, जसपा, लोपसा र जनमत पार्टी सहित ५ दलले अस्पतालको विषयलाई लिएर आन्दोलन गरेका हुन् ।

प्रतिक्रिया





Top