मधेश सरकारले भ्रष्टाचार गरेको छानबिन गरी कारबाही गर्न जनमतको माग

न्यूज डेस्क     २०८० माघ ३, बुधबार १४:२१ बजे मा प्रकासित


जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको मधेश प्रदेश सरकारले गरेको भ्रष्टाचार छानविन गरी कारबाही अघि बढाउन जनमत पार्टीले समबन्धित निकायसँग अपिल गरेको छ।

दुई मन्त्रालयसहित सरकारमा रहेको जनमत पार्टीले प्रदेश सरकार गठन भएको ६ वर्ष पुरा भएको अवसरमा बुधवार प्रेश विज्ञप्ती जारी गर्दै विभिन्न ‘भ्रष्टाचार काण्डहरु’ सार्वजनिक गर्न सरोकारवालाहरुलाई ध्यानाकाषर्ण गराएको छ।

ती भ्रष्टाचार काण्डहरु सम्बन्धित पक्षबाट छानबिन गरी कारवाहीको दायरामा ल्याई मधेशको स्वाभिमान उच्च राख्न जनमतले अनुरोध गरेको हो।

मधेश आन्दोलन तथा मधेशी शहीदहरुको भावनालाई कुल्चिदै संघीयतालाई समाप्त पार्ने र मधेशी जनताको स्वाभिमान गिराउने कार्य जसपा नेतृत्वको सरकारले गरेको उसको आरोप छ।

‘गणतन्त्र, संघीयता, समावेशीता र मधेशवादलाई बदनाम हुनबाट जोगाउन र मधेश प्रदेशलाई देशकै सबल एवं स्वाभिमानी प्रदेशका रुपमा स्थापित गराउन आम समुदायसँग हार्दिक अपील समेत गर्दछु,’ पार्टीका सचिव बीपी साहले हस्ताक्षर गरेको विज्ञप्तीमा उल्लेख छ।

तत्कालीन समयमा मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयले सामुदायिक विद्यालयका छात्रालाई वितरण गर्न गरेको साइकल खरिदमा भएको भ्रष्टाचारलाई जनमत पार्टीले ‘साइकल चोरी काण्ड’ उल्लेख गरेको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १० करोड ३३ लाखको भ्रष्टाचारको मुद्दा विशेष अदालतमा दर्ता गराएपनि खरिद गरिएको थप साइकलको छानविन हुन बाँकी रहेको विज्ञप्तीमा जनाइएको छ। मुख्यमन्त्री स्वच्छता अभियानको झण्डै १ अर्ब २८ करोड बजेटमा अनियमितता भएको भन्दै अख्तियारले छानविन गरिरहेको छ।

‘मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ’ कार्यक्रम अन्तर्गत छोरी शिक्षा बीमाको ६ हजार फाईल गायब गरी बीमा रकम खातामा जम्मा नगरेको जनमतको आरोप छ। त्यस प्रकरणमा छानबिन गरी कारवाही हुन बाँकी रहेको प्रेस विज्ञप्तीमार्फत बताइएको छ।

मधेश प्रदेशको गौरव जानकी मन्दिरमा विद्युतीकरण एवं सौन्दर्यीकरणमा करोडौंको भ्रष्टाचार भएकाले त्यसको पनि छानविन गर्नपर्ने जनमतले माग गरेको छ।

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठान सर्लाहीको नाममा १७ करोड ९८ लाख ३३ हजार भ्रष्टाचार भएको भन्दै अख्तियारद्धारा विशेष अदालतमा मुद्दा दायर भएको र मधेश प्रदेश सरकारद्धारा शहीद परिवारलाई वितरण गर्ने भनि ल्याइएको भैंसी वितरणमा शहीद परिवारलाई ठगेको प्रकरणमा समेत अनुसन्धान गरी दोषीलाई कारबाही गर्नुपर्ने जनमतले जारी गरेको विज्ञप्तीमा भनिएको छ।

प्रतिक्रिया





Top