महोत्तरी : सम्सी र मटिहानीबाट सेटिङमा तस्करी, सशस्त्र र नेपाल प्रहरीका हाकिमकै मिलेमतो

न्यूज डेस्क     २०८० माघ ५, शुक्रबार १५:२० बजे मा प्रकासित


बर्दिबास । भारतसँग जोडिएका सीमा नाकाबाट भन्सारछली तस्करी हुँदा राजस्व असुली लक्ष्यअनुसार हुन सकेको छैन । सीमानाकाबाट हुने भन्सारछली नियन्त्रणका लागि सशस्त्र प्रहरी परिचालित छ । सशस्त्र र नेपाल प्रहरीले पनि भन्सारछली नियन्त्रण गरी राजस्व बृद्धिमा योगदान दिनुपर्ने कर्तब्यबोध गर्न नसकेको गुनासो छ ।

गएको असोजमा सशस्त्र प्रहरीकै सेटिङमा सिरहाका माडर, ठाडी नाकाहरुबाट ब्यापक तस्करी भएपछि राजस्व अनुसन्धान कार्यालय इटहरीको टोलीले भन्सारछलीका करोडौं रुपैयाँबराबरका लत्ताकपडा बरामद गरेको थियो । सशस्त्र मुख्यालयले भन्सारछलीका कपडा तस्करीमा मुछिएका एसपी प्रमोद भारती र डीएसपी रामहरि खड्कालाई कारबाहीस्वरुप तानेको थियो ।

यसैबीच महोत्तरीका सीमानाकाबाट पछिल्ला दिनमा भन्सारछलीका सामान ब्यापकरुपमा भित्रिरहेका छन् । सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म भिठ्ठामोड महोत्तरीकै मिलेमतोमा मटियानी र सम्सी नाकाबाट बढी तस्करी हुने गरेको छ । यी नाकाबाट ठूलो परिमाणमा भारतीय धानका अलावा लत्ताकपडा लगायतका सामान तस्करी हुँदा नेपाली किसानहरु मारमा पर्ने गरेका छन् । नेपाली धानले मूल्य नपाउँदा कृषकहरु पेशाबाटै पलायन हुँदैआएका छन् ।

२०८० पुस २४ गते दिउँसो २ बजे मटियानीबाट जनकपुर लाँदै गरेको ६५ बोरा धान पिपराबाट बरामद गरी भन्सार बुझाएको छ । उक्त दिन बरामद भएको परिमाण थोरै भए पनि यो नाकाबाट ठूलो स्केलमा धान तस्करी सशस्त्र प्रहरीकै सेटिङमा हुँदैआएको छ ।

यसैक्रममा महोत्तरीको सबैभन्दा बढी तस्करी सम्सी नाकाबाट हुने गरेको छ । भारतबाट सम्सी नाका हुँदै बिभिन्न किसिमका लत्ता कपडाहरु बोकेको ३ वटा ट्याम्पु र २ वटा मोटरसाइकल जिल्ला प्रहरी कार्यालय महोत्तरीको टोलीले २०८० माघ १ मा बरामद गरेको छ । भारतबाट तस्करीका लत्ताकपडा बोकेर सम्सी नाका हुँदै नेपालतर्फ आइरहेका ट्याम्पु र मोटरसाइकल प्रहरीले महोत्तरीको निगौलबाट बरामद गरेको हो । अन्दाजी रु.२१ लाख २८ हजार ३ सय बराबरका लत्ता कपडासहित ६ जना ब्यक्तिलाई गौशाला नगरपालिका २ निगौलबाट पक्राउ गरी जलेश्वर भन्सार कार्यालयमा बुझाइएको छ ।

त्यसैगरी महोत्तरीको मटियानी नाकालाई तस्करी हुने दोस्रो नाकामा रुपमा लिइन्छ । सशस्त्र र नेपाल प्रहरीका त्यस क्षेत्रका हाकिमहरुले महिनाको ४ लाख दस्तुरी लिई केही ब्यापारीहरुलाई तस्करीको लाइन दिइएको स्रोत बताउँछ । ती मध्येका सबैभन्दा बढी भन्सारछलीका सामान भित्र्याउनेमा कालिया पर्दछन् । उनले सबैभन्दा बढी सम्सी नाकाबाट सामान ल्याउने गरेका छन् ।

मटियानीबाट भन्सारछली बढेको गुनासोपछि मधेश प्रदेश बाहिनीले तत्कालीन सशस्त्र प्रहरीका इन्स्पेक्टर भोला श्रेष्ठसहित पूरै टिमलाई नै चेन्ज गरिएको थियो । इन्स्पेक्टर श्रेष्ठ हाल छानबिनका लागि बाहिनी तानिएका छन् । उनी गृहमन्त्री नारायणकाजी श्रेष्ठको आडमा लिंदै फेरि मटियानी फर्किने दाउमा छन् ।

यी दुई घटना प्रतिनिधि उदाहरणमात्र हुन्, यसले महोत्तरीमा भन्सारछली ब्यवस्थित र सुरक्षित रुपमा भइरहेको दर्शाउँछ । सशस्त्र प्रहरी बल प्रस्तावित गुल्म रघुनाथपुरका डिएसपी महेश खरेलले आफ्नो मातहतमा रहेका सम्सीका इन्स्पेक्टर बाबुकाजी कटुवाललाई पृष्ठपोषण गर्दै आएका छन् । डिएसपी महेश खरेलले पनि मातहतबाट दररेट तोकेर असुली गरी तस्करीको लाइन दिएको आरोप छ ।

त्यसो त जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रमुख एसपी प्रकाश मल्लका घुमुवा राजेश्वर भन्ने राजेश यादव, धर्मेन्द्र यादवलगायतले तस्कर कालियासँग आर्थिक लाभ लिई तस्करीको लाइन दिएको आरोप छ । स्रोतका अनुसार सम्सी नाकाबाट सबैभन्दा बढी भन्सारछलीका सामान भित्र्याउने कालिया हुन् । उनले सशस्त्र र नेपाल प्रहरी दुबैतिर लाइन मिलाएर भारतबाट भन्सारछली गरी सामान भित्र्याउँदैआएका छन् । सशस्त्र प्रहरी बल नेपाल ९ नं. गण महोत्तरीका गणपति एसपी लेखनाथ खनाल छन् ।

राजेश र धर्मेन्द्रले हरि मण्डलसँग बर्षौदेखि सेटिङ गरेर गाँजातस्करी गर्र्दैआएका थिए । २०८० असोज २४ गते राति २ बजे जलेश्वरबाट बखरीतर्फ जाँदै गरेको ना ६ ख ७३७४ नम्बरको ट्रकमा ४ क्वीन्टल गाँजासहित तस्कर हरि मण्डल पक्राउ परेका थिए ।

प्रहरीका घुमुवा बैंजु यादव र राजेश यादवको सेटिङमा महोत्तरीको बाटो प्रयोग गरी मण्डलले निर्वाध गाँजा तस्करी गर्दैआएका थिए । बैंज यादव भने घुमुवा अप्रेसनमा परी सरुवा भएर हाल उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत छन् । राजेश अद्यापि महोत्तरीमै कार्यरत छन् ।याे समाचार नेपाल फेसमा लेखिएको छ ।

मासिक दररेट तोकेर उनले हरि मण्डलसँग लिएर गाँजा तस्करीमा सहयोग गर्दैआएको खुलेपछि घटनाको छानबिन भएको थियो । तर राजेशलाई कुनै कारबाही नगरी उन्मुक्ति दिएर हाल घुमुवाबाट मुक्त गरी ड्यूटीमा खटाइएको छ ।

प्रतिक्रिया





Top