सिमरा : प्रभु निवास बन्यो पूर्वराजा शाहको ‘सेल्टर’

न्यूज डेस्क     २०८० माघ ९, मंगलवार ०९:५१ बजे मा प्रकासित


वीरगन्ज । पूर्वराजा ज्ञानेन्द्र शाहको बारा सिमरास्थितको ‘प्रभु वास’ निवासलाई १५ दिनदेखि सेल्टर बनाएका छन् । मधेस प्रदेशको धार्मिक भ्रमणमा रहेका पूर्वराजा शाह गएको २३ गतेदेखि सिमराको प्रभुशमशेर जबराको निवासलाई आफ्नो सेल्टर बनाएका हुन् । प्रभु निवास सिमरा वडा नम्बर १ स्थित छ ।

 

नातामा आफन्त पर्ने भएकोले पूर्वराजासहितको परिवारको यही बसोबास रहेको राष्ट्रिय नागरिक संघर्ष समितिका प्रवक्ता हिराबहादुर चन्दले जनाए । उनका अनुसार २३ गते भैरहवाबाट सडकको बाटो हुँदै पूर्वराजा सिमरा आइपुगेका हुन् ।

 

मधेस प्रदेशलाई लक्षित गर्दै भ्रमणमा रहेका पूर्वराजा शाह प्रभु निवासलाई सेल्टर बनाएर बसेको जानकारी गरे ।यता इलाका प्रहरी कार्यालय बारा सिमराका प्रहरी निरीक्षक लक्ष्मण पतभैयाले पनि भने, ‘प्रभु निवासमा पूर्व राजपरिवारको सदस्यहरू बसिरहनुभएको छ, करिब ६÷७ जना परिवारका सदस्यहरूसहितको टोली छ । नातामा आफन्त पर्ने प्रभु निवासमा सबै जना बसिरहनुभएको छ ।’

कहाँ–कहाँ गरे धार्मिक भ्रमण ?
पूर्वराजा अहिले मधेस दौडाहामा छन् । धार्मिक भ्रमण तथा नागरिक अभिनन्दनको नाममा पूर्वराजा मधेस प्रदेशसहितका जिल्लाहरूमा भेटघाट गरिरहेका छन् । मधेस प्रदेशको सर्लाही बरहथवामा रहेको मुक्तकेश्वर, रौतहटको शिवनगर मन्दिर, बाराको गढीमाई मन्दिर, वीरगन्जको गहवमाई मन्दिरको दर्शन तथा पूजाअर्चना गरेका छन् । हिजोमात्रै पूर्वराजाले गोप्यरुपमा वीरगन्जको समेत भ्रमण गरेका छन् । वीरगन्जको गहवामाई मन्दिरको दर्शन गरेर पूर्वराजा फर्केका छन् । गहवामाईको दर्शनपश्चात् हिजै हेटौँडामा पनि पूर्वराजाले भ्रमण गरेका थिए । यसैगरी १३ माघमा वीरगन्जमा पूर्वराजा शाहलाई नागरिक अभिनन्दन कार्यक्रमसमेत राखिएको छ । यो कार्यक्रम सकेपछि थप अन्य कार्यक्रम तय गरिने बताइएको छ ।

पछिल्लो समय नागरिक अभिनन्दन तथा धार्मिक भ्रमणको नाममा मधेस दौडाहामा पूर्वराजा शाहको सक्रियता बढ्दै गएको छ । तर राजनीतिक विश्लेषक कृष्ण खनालले पूर्वराजाको तराइ भ्रमण कुनै अर्थ नरहेको बताए । उनले भने, ‘यो भ्रमण अरू केही पनि होइन, पूर्वराजा अहिले खाली छन् । कुनै काम छैन, त्यही कारण गुमेको सत्ता हात लाग्छ कि भनेर च्याँखे थापेको मात्रै हुन् । तर यो सम्भव छैन ।’ ‘त्यसकारण राजतन्त्र परिवर्तनको सम्भावना छैन, बरु धार्मिक अतिवाद आउन सक्छ,’ उनले भने, ‘अब इतिहास उल्टिन सक्दैन क्लियर छ ।’ अली असगर देवान

प्रतिक्रिया





Top