जनकपुरधाम । सरकारबाट जनमत पार्टीलाई निकाल्न जनता समाजवादी पार्टीले प्रधानमन्त्री प्रचण्डमाथि दबाब बढाउन थालेको छ । सरकारमा रहेर सरकारकै आलोचना र गठबन्धनमा रहेर गठबन्धनै विपक्षमा उभिने भएपछि जनमतलाई सरकारमा राख्न नहुने जसपाको तर्क रहेको छ । उक्त तर्कमा प्रधानमन्त्री प्रचण्ड पनि सहमत हुन थालेको बताइन्छ ।
आफ्नै पार्टीकी नेतृ अनितादेवी संघीय मामिला मन्त्री रहेकी छिन् अनि उनकै मन्त्री सहभागी भएको मन्त्रिपरिषद् बैठकले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेको थियो तर जनमत पार्टीले तिनै मन्त्रीलाई लिएर २०८० पुुस १५ गते माइतीघरमा विरोध कार्यक्रम गरेको थियो । त्यसले गठबन्धन र सरकारको खिलाफमा लागेको देखिएको जनमतले राष्ट्रियसभा चुनावमा पनि गठबन्धनको विरोधमा लागेको छ । गठबन्धनले जनमत पार्टीलाई पटकपटक उम्मेदवारी नदिन आग्रह गरेको थियो ।
तर, उसले मधेशमा जसपाविरुद्ध उम्मेदवारी दियो । अनि लुम्बिनीमा माओवादीविरुद्ध उम्मेदवारी दियो । त्यसले पनि प्रचण्डलाई रुष्ट बनाएको थियो । त्यहीबेला मधेश प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा जनमतका नेताहरु विरोधमा उत्रिए अनि मधेश सरकारलाई भ्रष्ट सरकार भनेर आलोचना गरे । जबकि त्यही प्रदेश सरकारमा २ वटा मन्त्रीसहित जनमत सरकारमा रहेको छ । विगतमा पनि जनमतले गठबन्धन र सरकारविरोधी काम सक्रिय भएको थियो । गठबन्धनमा बसेर उपराष्ट्रपतिमा बागी उम्मेदवार उठाएको थियो । बारा २ मा पनि गठबन्धनका उम्मेदवार उपेन्द्र यादवविरुद्ध बागी उम्मेदवार उठाएको थियो ।
हरेक निर्णयमा बागी बनेर उभिने क्रममा सरकारको बजेटको विपक्षमा मतदान गरेको थियो । मतदान गरेको केही महिनामै सरकारमा गएर मन्त्री खायो । त्यसैले जनमत पार्टी र अध्यक्ष सीके राउतमाथि नैैतिक प्रश्न उठेको छ । उक्त नैतिक प्रश्न उठाउँदै जसपाले सरकारबाट लखेट्न दबाब पनि बढाएको छ ।








प्रतिक्रिया