काठमाडौं। बंगलादेशले नेपालबाट ४० मेगावाट बिजुली लैजान प्रस्ताव मागेको छ। बंगलादेशले नेपालसँग प्रस्ताव मागेर बिजुली लैजान खोजेको हो।ऊर्जा मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले बंगलादेशले टेण्डरको सूचना निकालेर प्रस्ताव मागेको जानकारी दिए। उनका अनुसार आगामी जुनदेखि बिजुली पठाउने तयारी छ ।
‘बंगलादेशसँग बिजुली व्यापारको कुरा चलिरहेको छ। उसले टेण्डर नै निकालेर प्रस्ताव मागेको छ,’ ऊर्जा सचिव सिग्देलले भने, ‘बर्खा अगावै पठाउने गरी तयारी भएको छ।’नेपाल विद्युत प्राधिकरणका उपकार्यकारी निर्देशक प्रदीप थिकेले अहिले प्रणालीमा पर्याप्त बिजुली नभएकाले पठाउन नसकिने बताए ।
उनले बर्खा लागेर उत्पादन बढेपछि पठाउने तयारी रहेको जानकारी दिए।‘अहिले उसलाई जवाफ पठाउँदै गरौंला । जुनदेखि विद्युत् नै पठाउन सक्छौं,’ उनले भने।बंगलादेशले नेपालबाट लामो समयदेखि विद्युत् लैजान चाहेको छ। उसले नेपालसँग पटक-पटक बिजुली लैजाने प्रस्ताव गर्दै आएको छ।
भारतका कारण लामो समयदेखि उक्त प्रस्तावमा छलफल मात्रै हुने गरेको थियो ।
नेपाल र बंगलादेशबीच विद्युत् व्यापारका लागि भारतको प्रसारण लाइन प्रयोग गर्नुपर्छ। उसले अनुमति नदिएका कारण रोकिएको थियो।तर ५० मेगावाटसम्म विद्युत् व्यापार गर्न दिन भारत तयार भएकाले बंगलादेशले अहिले नेपासँग प्रस्ताव मागेको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गत जेठ तेस्रो साता गरेको भ्रमणका क्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले ५० मेगावाट बिजुली बंगलादेशसँग व्यापारका लागि सहजीकरण गरिदिने बताएका थिए। जेठ १८ गते संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले नेपाल, भारत र बंगलादेश मिलेर विद्युत् व्यापारको सहमति कार्यान्वयन गरिने बताएका थिए ।
नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय पछिल्लो बैठकमा ४० मेगावाट बिजुली लैजाने सहमति भएको थियो। सुरुमा नेपाल र बंगलादेशबीच विद्युत् व्यापारका लागि प्रसारण लाइनको समस्या देखाएको भारतले ५० मेगावाटसम्म व्यापार गर्ने बताएपछि सहमति जनाएको हो। अहिले बंगलादेशले भारतबाट बिजुली लगेर आन्तरिक माग पूरा गरिरहेको छ।
बैठकमा विद्युत् व्यापारका लागि ‘डेडिकेटेड’ प्रसारण लाइन निर्माण गर्ने सहमति भएको थियो। यसका लागि भारतलाई मनाउने र त्यसो भए दीर्घकालमा विद्युत् व्यापार बढाउन सहज हुने कुरा भए पनि त्यसमा भने प्रगति भएको छैन।
ऊर्जा संकट खेपिरहेको बंगलादेशलाई नवीकरणीय ऊर्जाको हिस्सा बढाउन अन्तर्राष्ट्रिय दबाब छ। सोही कारण उसले नवीकरणीय ऊर्जाको खोजी गरिरहेको छ ।
बंगलादेशले ६८३ मेगावाटको सुनकोसी ३ जलविद्युत् आयोजना संयुक्तरुपमा निर्माण गरेर विद्युत् लैजान चाहेको छ। बंगलादेशका प्राविधिकले आयोजनाको साइटको अध्ययन गरिसकेका छन्। संयुक्त कम्पनी बनाएर निर्माणमा लैजाने सहमति दुई देशबीच यसअघि नै भइसकेको छ।
नेपाल विद्युत प्राधिकरण यो जलविद्युत् आयोजनाको लाइसेन्स प्राधिकरणसँग छ। बंगलादेशसँग संयुक्त कम्पनी बनाउनका लागि प्राधिकरणले आयोजनाको लाइसेन्स लिएको हो। यो आयोजनाको विस्तृत अध्ययन र वातावरणीय प्रभाव मूल्यांकन (ईआइए) प्रतिवेदन विद्युत् विकास विभागले तयार पारेको हो ।
आयोजना रामेछाप, सिन्धुली, सिन्धुपाल्चोक र काभ्रेमा पर्छ। जसको निर्माणका लागि १ खर्ब ६० अर्ब रुपैयाँ लाग्ने अनुमान छ। निर्माण थालेको ७ वर्षमा वर्षमा उत्पादन गर्ने लक्ष्य छ।
९०० मेगावाटको अप्पर कर्णाली जलविद्युत् आयोजनाको ५०० मेगावाट लैजान विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) गर्ने बंगलादेशको तयारी छ। भारतीय कम्पनी जीएमआरले भारतकै सरकारी स्वामित्वको सतलज जलविद्युत निगमलाई भित्र्याएर आयोजनाको निर्माण अघि बढाउन लागेको छ ।
प्रतिक्रिया