पूर्वराजा किन उत्साहित ? नागरिक अभिनन्दन कि शक्ति सञ्चय ?

न्यूज डेस्क     २०८० माघ १८, बिहीबार ०६:४९ बजे मा प्रकासित


एलिसा अर्याल,काठमाडौँ । राजाबाट नागरिक बनिसकेका ज्ञानेन्द्र शाहलाई फेरि कतै राजतन्त्र फर्किहाल्छ कि भन्ने आशा पलाएको छ । उनी सत्ता र शक्तिमा फर्कने दाउ हेरेर बसिरहेका छन् । त्यसैले पछिल्लो समय उनको सक्रियता पनि निकै बढेको पाइन्छ । राजतन्त्रवादीहरु पनि राजसंस्था फर्काउने भन्दै आन्दोलनमा छन् । राजनीतिक दलहरुका कृयाकलापबाट गणतन्त्रप्रति नै वितृष्णा पैदा भइरहेको संकेत पाएपछि राजवादीहरु अलि बढि नै हौसिएका छन् ।

२०६५ जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकको अध्यक्षता गरिरहेका ज्येष्ठ सदस्य कुलबहादुर गुरुङले ‘सार्वभौम सत्ता र राजकीय सत्ता नेपाली जनतामा निहित रही स्वतन्त्र, अविभाज्य, सार्वभौम सत्ता सम्पन्न, धर्म निरपेक्ष, समावेशी नेपाल आजैका मितिदेखि एक संघीय, लोकतान्त्रिक गणतन्त्रमा विधिवत् परिणत भएको घोषणा गर्दछु ।’ भने पछि नेपालबाट राजतन्त्रको अन्त्य भयो । बैठकमा सहभागी सबैले ताली बजाए । राजतन्त्रको अन्त्य भएको घोषणाको १४ दिन पछि अर्थात् जेठ २९ गते तत्कालिन राजा ज्ञानेन्द्र शाहले नारायणहिटी राजदरवारमा पत्रकार सम्मेलनको आयोजना गरे । शाहले देशवासीका नाममा १४ मिनेट निक्कै भावुक बन्दै लिखित सम्बोधन गरे । पत्रकारहरूको प्रश्नमा भने ‘थ्याङ्क यु’ जवाफ फर्काए । नेपाल एकीकरणको झन्डै २४० वर्षपछि हामीबाट शासकीय सत्तारुपी जनताको नासो जनतालाई नै बुझायौं भन्दै दरबारबाट बाहिरिएका ज्ञानेन्द्र शाहले सत्ताच्यूत हुँदा के भनेका थिए ? त्यो हेरौँ :
तत्कालीन राजा ज्ञानेन्द्र शाहले वि.सं. २०६१ माघ १९ गते जननिर्वाचित सरकार भंग गरि मनोनित सरकार गठन गरेपछि उनको यो कदमविरुद्ध संसदवादी दलहरु एकढिक्का भए । दलहरुले आह्वान गरेको आन्दोलनलाई जनताले पनि साथ थिए । यसमा शसस्त्र युद्धमा रहेको माओवादी पनि ब्याकअपमा रुपमा आन्दोलनमा सामेल भयो । दरबारबाट आफै गाडी ड्राइभ गर्दै निस्किएका शाहले सारमा हेर्दा सहजै गद्दी त्याग गरे जस्तो देखिन्थ्यो । तर उनले आफ्नो इच्छाले राजगद्दी छोडेका थिएनन् । राजकाजमा कम र व्यापार व्यवसायमा रमाइरहेका शाह सुरुमा आफुलाई गलत सल्लाह दिइरहेका आसेपासेहरुले आन्दोलनको वास्तविक शक्ति बताउने बित्तिकै फतक्कै गले ।
सिंहासन जोगिने कुनै विकल्प नदेखिएपछि उनी निकै भारी मनले दरबारबाट निस्किए । तर नारायणहिटीबाट नागार्जुन नपुग्दै शाहमा पून सिंहासनमा फर्कने हुटहुटी दरिलो बनिसकेको थियो । राजाबाट च्यूत भएयता शाह लामो समय मौन बसे । बाहिर शान्त र धीर देखिएपनि उनी भित्र गद्दी गुमाउँदाको पीडाको ठूलो आँधी मडारिरहेको थियो । गद्दीमा पुन फर्कने प्रयासमै रुपमा उनी धेरैतिर भौतारिए । शक्ति सञ्चय र संगठन विस्तारका लागि भारतदेखि नेपालका अनेकौ धार्मिकस्थलहरुको भ्रमण गरे । महिनौ काठमाडौँ छोडे । अब शाहलाई आफ्नो योजना कार्यान्वयनमा ल्याउने उपयुक्त समय आएको महशुष भएको हुनुपर्छ, त्यसैले उनको सक्रियता ह्वात्तै बढेको छ । सार्वजनिक रुपमा खासै नबोल्ने शाह अहिले नेपालगञ्जदेखि झापासम्म पुगेर भाषण गर्न व्यस्त छन् । दलहरुमाथि धावासमेत बोल्न थालेका छन् । राजसंस्था विस्थापित भएपछि जनताले के पाए त भन्दैै हाकाहाकी प्रश्न गर्ने हैसियतमा पनि उनी पुगेका छन् ।
हुनतः देश गणतन्त्रमा गएपछि दुईपटक निर्वाचन भैसकेको छ । तर जनतामा निरासा र व्यवस्थामाथि नै आक्रोश बढ्दो छ । दल र नेताहरुप्रति नागरिकको वितृष्ण थाहा पाएरै पनि पूर्वराजा हौसिन थालेका छन् ।

 

सामाजिक र धार्मिक गतिविधिका नाममा देश दौडाहालाई तीव्रता दिएका छन् । पूर्वराजा पुग्ने कार्यक्रमहरुमा सर्वसाधारणको भीड देखेपछि राजसंस्थाको वकालत गरिरहेको राप्रपा पनि हौसिएको छ ।
तर राप्रपाप्रति शाह विश्वस्त छैनन् । शाह दुर्गा प्रसाइसँग पनि नजिक छन् । काठमाडौँमा मंसिर ७ गरेको आन्दोलन बीचैमा तुहिएपछि फागुन १ मा पूनः अर्को आन्दोलन गर्ने प्रसाईले घोषणा गरेका छन् । उता, राप्रपाले पनि आन्दोलनको घोषणा गरिसकेको छ ।

पूर्वराजा ज्ञानेन्द्रको दौडधुप
गत वर्ष फागुन १ गते मेडिकल व्यवसायी दुर्गा प्रसाईंले झापाको काँकडभिट्टास्थित मेची नदीबाट अभियान सुरू गर्दा पूर्वराजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाह पनि सँगै मञ्चमा देखिएका थिए । त्यसयता शाह धार्मिक आवरणमा देशका विभिन्न ठाउँमा नागरिक अभिनन्दनमा सहभागी हुँदै आएका छन् ।

 

पूर्वराजा ज्ञानेन्द्रले असोज ७ गते भक्तपुर पुगेर नागरिक अभिनन्दन ग्रहण गरेका थिए । मङ्सिर ९ गते राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरू डा प्रकाशचन्द्र लोहनी, धवल शमशेर राणा र रवीन्द्र मिश्रलाई झापामै बोलाएर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरेका थिए । यस्तै पुस ८ गते नागरिक अभिनन्दनका लागि भैरहवा पुगेका पूर्वराजा शाहले होटल सिद्धार्थ भिलामा राप्रपाका अध्यक्ष लिङ्देन, वरिष्ठ उपाध्यक्ष मिश्र, उपाध्यक्ष बुद्धिमान तामाङ, महामन्त्री राणा र सांसद दीपक सिंहसँग भेटवार्ता गरेका थिए ।
माघ ७ गते बागमती प्रदेशको राजधानी हेटौँडा पुगेका पूर्वराजा शाहले भुटनदेवी मन्दिरमा पूजा आराधना गरे । त्यसअघि ज्ञानेन्द्रले हेटौँडाकै चुरियामाई र पदमपोखरीस्थित ज्याङछुपलिङ पोताला गुम्बामा पनि पूजाअर्चना गरे । माघ १३ गते वीरगञ्जमा आयोजित नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गरे ।

सोमबार पूर्वराजा ज्ञानेन्द्रले मेडिकल व्यवसायी दुर्गा प्रसाईसंग भेटेका छन् । माहोल आफु अनुकुल भएको विश्वासमा रहेका शाहले कुनैपनि राजावादी दल तथा पात्रहरुलाई खुलेर समर्थन गर्न सकिरहेका छैनन् । राजावादी र पूर्वराजाको सक्रियता देखेर एमाले अध्यक्ष केपी ओली बढि नै बिच्किएका छन् । ओलीले शाह कुशका मात्रै राजा थिए भन्दै आक्रोशयुक्त टिप्पणी गरे । त्यस्तै पूर्वराजाको सक्रियतालाई साइजमा ल्याउन बुधवार प्रधानमन्त्री प्रचण्डले दरबार हत्याकाण्डको पुन छानविन गर्ने भन्दै चेतावनीयुक्त अभिव्यक्ति दिए । गणतन्त्रको विकल्प उन्नत गणतन्त्र मात्रै रहेको भन्ने जनमत बलियो रहेको अहिलेको अवस्थामा पूर्वराजाका अन्य गतिविधि र रणनीति के कस्तो हुन्छ त्यो भने हेर्न बाँकी छ ।

प्रतिक्रिया





Top