एसएसपी र एसपीको सरुवाको तयारी

मधेशपाटी अनलाइन     २०८० माघ २५, बिहीबार २१:५८ बजे मा प्रकासित


जनकपुरधाम । प्रहरी प्रधान कार्यालयले एसएसपी र एसपीको सरुवाको अन्तिम तयारी गरेको छ । केही कार्यालयको सरुवामा कुरा नमिल्दा अन्तिम निर्णय हुन सकेको छैन । शुक्रबारसम्म सरुवा हुने सम्भावना रहेको एक उच्च प्रहरी अधिकारी बताउँछन् ।

 

एसएसपी सरुवामा पाँच तालिम केन्द्र र मानव बेचबिखन अनुसन्धान ब्यूरोको नेतृत्व फेरिँदै छ । जसमा एक दर्जन एसएसपीबीच प्रतिस्पर्धा छ ।

तराईका जिल्लामा जानका लागि एसपीहरूबीच अस्वस्थ प्रतिस्पर्धा चलिरहँदा सरुवाको निर्णय लम्बिएको छ । झापामा एसपी मिलन केसीले दाबी गरिरहेका छन् ।एमाले अध्यक्ष केपी ओलीदेखि माओवादी नेताहरूलाई फकाएर उनी झापा जान लागेको स्रोत बताउँछ। उनी विवादास्पद प्रहरी अधिकृत हुन् ।यसअघि स्वयम्भू वृत्तमा कार्यरत रहँदा जेलमा गएर शंकास्पद रूपमा गुन्डा नाइके समिरमानसिंह बस्नेतलाई भेटेकोमा उनी कारबाहीमा परेका थिए ।

 

कार्यक्षमतामा पनि कमजोर रहेका केसीलाई झापा जस्तो संवेदनशील जिल्लामा पठाउन लागिएको छ ।त्यस्तै, मोरङमा श्याम खत्री र श्याम राईबीच प्रतिस्पर्धा छ । पर्सामा कुमोध ढुंगेलको सम्भावना बलियो भए पनि अन्य केही एसपी पनि लागेका छन् । रुपन्देहीमा बसुन्धारा खड्कालाई पठाउने तयारी छ भने काभ्रेमा सन्तोष खड्काको सम्भावना रहेको स्रोत बताउँछ ।

त्यस्तै, सिराहा, महोत्तरी, बर्दिया, कैलाली, कञ्चनपुर, चितवन, सिन्धुपाल्चोक, सिन्धुली, धनकुटा, धादिङ, तनहुँ, गोरखा, स्याङ्जा, गुल्मी, पाल्पा लगायत जिल्लाका एसपी पनि हेरफेर हुँदै छन् ।

प्रतिक्रिया





Top