रौतहटका नाकाबाट खुलेआम तस्करी, तस्करीका सामान राजस्वद्वारा पक्राउ

मधेशपाटी अनलाइन     २०८० माघ २८, आईतवार ०५:३५ बजे मा प्रकासित


गौर । रौतहटका बिभिन्न नाकाबाट खुलेआम भन्सारछलीका सामान भित्र्याउने गरिएको छ । सशस्त्र प्रहरीको संरक्षणमा तस्करी हुँदैआएको आरोप छ । सीमामा खटिएका सशस्त्र प्रहरीको संलग्नतामा लक्ष्मीपुर बेलबिक्षवा, औरैया, महुलिया, बन्जरहा जस्ता खुला नाकाहरुबाट खुलेआम तस्करी भइरहेको छ। यसै गरी राजपुर, बंकुल लगायतका नाकाहरुबाट पनि दिनहुँ लाखौँको तस्करी भइरहेको छ ।

राजस्व अनुसन्धान विभागले सानेपाबाट ७६ लाख रुपैयाँ बराबरको अवैध रूपमा भित्र्याएको कपडा सहितको ट्रक नियन्त्रणमा लिएको छ । ट्रकमा चामल राखेको देखाएर राजस्व छलेको कपडाको चोरी पैठारी गरिएको थियो । विभागका महानिर्देशक नवराज ढुंगानका अनुसार ट्रकमा कुर्ता सलवार, सारी, धोतीलगायतका तयारी पोशाक रहेको छ । उनका अनुसार उक्त ट्रक गौरबाट काठमाडौंतर्फ आएको थियो । गौरदेखि नै पछ्याएर राजस्वको टोलीले चालकसहित ट्रकलाई पनि सानेपाबाट नियन्त्रणमा लिएको हो । गौर गुल्मका डीएसपीको सेटिङमा भन्सार अगाडिबाटै खुलेआम तस्करी हुने गरेको छ । मासिक ८० हजारदेखि १ लाख रुपैयाँसम्म दररेट तोकेर उक्त नाकाबाट ब्यापारीलाई कपडा तस्करीको लाइन दिइएको छ ।

 

रौतहटका बेलबिछवा लक्ष्मीपुर, महादेवपट्टि, मठिया नाका, बंकुलबाट बढी तस्करी हुँदैआएको छ । सशस्त्र प्रहरीकै सामुन्ने यी नाकाबाट तस्करी गरी सामान नेपालतर्फ ल्याउँदैगरेको दृश्यसहितको भिडियो नै सार्वजनिक भए पनि सशस्त्र मुख्यालयले भने अनुगमन गर्न सकेको छैन ।
बंकुल नाकाबाट केही दिनयता व्यापक तस्करी मौलाएको छ । तस्करहरूले सशस्त्र प्रहरी बलका स्थानीय बीओपी प्रमुख र सशस्त्र प्रहरी बलको रौतहटस्थित गणबाट खटिएका घुमुवालाई सेटिङ मिलाएर उनीहरूको संरक्षणमा नै व्यापक तस्करी भैरहेको बंकुलका स्थानीय व्यवसायीहरू बताउँछन् । खुला सीमाको फाइदा उठाएर तराइका नाकाहरूबाट चोरी पैठारीका सामान भित्र्याउने गरिएको छ । राजस्व अनुसन्धानका कार्यालय, बोर्डर आउट पोस्टमा (बीओपी) मा सशस्त्र प्रहरी र नेपाल प्रहरीको चौकी ठाउँठाउँमा राखेपनि खुला बोर्डरको फाइदा लिएर गरिने चोरी पैठारी भने रोकिएको छैन ।

विभागका अनुसार एउटै ट्रकमा ठूलो परिमाण र लाखौं मूल्यको सामान बरामद भएको सम्भवतः यो घटना हो । कपडाधनीको खोजी भइरहेको विभागले जनाएको छ ।गौर वरिपरिका क्षेत्र बाट तस्करी बढिरहेको समाचार आइरहेको बताइएको भएपनि सम्बन्धित निकायले देखाउने मौनताले राजस्व सकृय हुनुपरेको बताइन्छ । बंकुलको नरकटिया नाका अहिले तस्करका लागि धेरै सजिलो मात्रै होइन, यहाँबाट केही तस्करहरूलाई खुलेआम लाइन पनि दिइएको छ ।यो नाकाबाट तस्करीको लाइन पाउनेहरूमा मोतिम मियाँ कपडा, रूपेश हार्डवेयर, बच्चेलाल किराना, नवल कपडा र चप्पल, मुस्तफा कपडा, हार्डवयेर र चप्पल मुख्य छन् । सशस्त्र प्रहरी बलको बंकुलस्थित बीओपीको प्रमुखमा सशस्त्र प्रहरी निरीक्षक नरेन्द्र रहेका छन् ।

 

देशमा आर्थिक मन्दी छ । राजस्व असुली लक्ष्य अनुसार हुन सकेको छैन । गतबर्षको भन्दा पनि कम राजस्व असुली भएकाले आगामी मंसिरदेखि कर्मचारीलाई तलव खुवाउन पनि धौधौ हुने आँकलन अर्थविद्हरुले गर्न थालेका छन् ।भन्सारबाट हुने आयातले राजस्वको मुख्य हिस्सा ओगट्ने गर्दछ । तर सीमा क्षेत्रमा भन्सार तिरेर भन्दा तस्करीबाट सामान भित्रने गरेको छ । सशस्त्र र नेपाल प्रहरीको मिलेमतोमा भन्सारछली हुँदैआएको छ । भारतीय सीमावर्ती क्षेत्रबाट रातभर सीमा क्षेत्रमा मोटरसाइकलबाट लत्ताकपडा, चिनी नेपालमा ल्याएर गोदाममा राख्ने र त्यहाँबाट काठमाडौं लगायतका सहरमा लाने गरिएको छ । बेलबिछवा लक्ष्मीपुर नाकाबाट मदिरा तस्करीको लाइन पाउने ब्यापारीहरुमा वीरेन्द्र सिंह, नवल साह, निरज सिंह छन् । ब्रम्हदेव यादवले कुुखुराको चल्ला, प्रभु पण्डित र रुपेश, इन्साद कपडाको लाइन पाएका छन् । मदिराको तस्करी गर्नेहरुलाई मासिक २५ देखि ३० हजार रुपैयाँ घुसको दररेट तोकिएको छ भने कुखुराको चल्ला र कपडाको २५ देखि ३५ हजार रहेको स्र्रोत बताउँछ ।यो नाकाबाट तस्करीको लाइन मिलाउन ब्यापारीहरुले नेपाल प्रहरीको स्थानीय चौकीका इन्चार्जलाई समेत सेटिङ गर्ने गरेका छन् । गौर गुल्मका डीएसपी अमर लामाको सेटिङमा भन्सार अगाडिबाटै खुलेआम तस्करी हुने गरेको छ । महादेवपट्टि नाकाबाट मदिरा, हार्डवेययरका सामान, खैनी, गुट्खा नेपालतर्फ भित्र्याउने गरिएकोे छ । किशोरीले र छोटेलालले मदिरा र हार्डवेयर, नेताजीले मदिरा र खैनी भित्र्याउने गरेका छन् । यो नाकामा पनि यी ब्यापारीलाई मासिक दररेट नै कायम गरी तस्करीको लाइन दिइएको छ ।
औरैया नाकाबाट अमजितले कपडा र खैनीको लाइन पाएका छन् । मिश्रीलाल र प्रमोदले किराना सामान भारतबाटभन्सारछली गरी ल्याउने गरेका छन् ।

 

भारतीय बजार चैनपुरबाट भन्सारछलीका सामान खुलेआम भित्रंदा पनि सशस्त्र प्रहरीले त्यसमा रोकतोक नगरी छुट दिने गरेको छ ।२५ देखि ५० हजार घुस दिएर उल्लखित ब्यापारीहरुले यो नाकाबाट तस्करीको सामान ल्याउने गरेको आरोप छ । औरैयाको सशस्त्रको बीओपीकै अगाडिबाट तस्करीको सामान भारतीय बजारबाट ल्याउने गरिएको छ । भारतीय बजार घोडासनसँग जोडिएको मठिया महुलिया र मत्सरी रामपुर खाप नाकाबाट पनि ब्यापक रुपमा तस्करीको सामान नेपालतर्फ भित्रने गरेको छ । यो नाकाबाट दररेट बुझाएर मदिरा तस्करीको लाइन जैसवालले पाएका छन् । राजाबाबुले खसीबाख्रा, इम्तीयाज र नागेन्द्रले भैंसी तस्करी गर्ने गरेका छन् । मदिरा र खसीबाख्रा नेपालतर्फ भित्र्याएबापत २० हजार र भैंसीको ५० हजार दररेट तोकिएको स्रोत बताउँछ । भारतीय बजार बैरगनियाबाट रौतहटको मुख्य नाका गौर भएर भारतीय ट्याम्पोमा सशस्त्र प्रहरीकै संलग्नतामा व्यापक मात्रा तस्करी भइरहेको छ ।

 

भन्सार कार्यालयको मुख्य गेटमा खटिने नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवान र भन्सार कार्यालयका कर्मचारीहरुले नै ‘लाइन’ दिएपछि नेपाल भारत सीमामा निर्माण भएका पक्की पुलको दक्षिण तथा भारतीय कस्टमदेखि उत्तर बीचको स्थानमा ल्याई राखिएको सामान गौर बजारसम्म सजिलै ल्याउने गरिएको छ।सदरमुकाम गौरको छेउमै रहेको महादेवपट्टीभन्दा पश्चिम लालबकैयाको केरावारीबाट लाखौं मूल्य बराबरको कपडाको तस्करी दिनहुँ भइरहेको छ। गौर भन्सारको मुख्य नाकामा सिसिटिभी क्यामेरा जडान भएपछि सुरक्षाकर्मीहरुले मुख्य नाकामा कडाइ जस्तो देखाएर सुरक्षाकर्मीकै मिलेमतोमा अत्यधिक तस्करी भइरहेको छ। मुख्य गरी भारतीय नम्बर प्लेटको ट्याम्पोमा तस्करी हुने गरेको छ ।

प्रतिक्रिया





Top