निलम्बनमा परेका प्रहरी असई यादव घुमुवा परिचालन

न्यूज डेस्क     २०८० फाल्गुन ९, बुधबार ०७:०८ बजे मा प्रकासित


जनकपुरधाम । नेपाल प्रहरीको केन्द्रीय नेतृत्व र प्रदेश नेतृत्वलाई सूचना नभएर हो वा थाहा भएर पनि ठिकै छ भनेर हो यस्तो सम्म पनि भएको छ कि निलम्बनमा परेका प्रहरी जिल्ला प्रहरी कार्यालयको घुमुवा बनेर व्यापारी र तस्करहरूसंग रकम उठाउने , बार्गेनिङ गर्ने र नदिए उसको सामान समाउने काम भैरहेको छ ।नीति र नियम ,निर्देशन र आदेश नमान्ने अनि संगठनको नेतृत्वको सोझोपनको फाइदा कसरी उठाउंने गर्छन् फौजी संगठनमा भन्ने कुरा महोत्तरीमा भैरहेको एक तथ्यले उजागर गरेको छ ।

निलम्बन भएको व्यक्ति सर्वसाधारण सरह हुन्छ , अनि उसले सामान समाउन पाउने अधिकार कहाँबाट पायो । अनि जिल्ला प्रहरी कार्यालय महोत्तरीको घुमुवा भएर हिड्ने अधिकार उसलाई कसले दियो । महोत्तरी जिल्लामा निलम्बनमा परेका असई बच्चा उपनामले चिनिने रामेश्वर प्रसाद यादव अहिले पनि जिल्ला प्रहरी र एसपीको घुमुवा बनेर खुलेयाम हिडिरहेका छन् । एसपी प्रकाश मल्लको बिश्वास प्राप्त घुमुवाको रूपमा परिचालित उनले केही दिन अघि सम्सी मटियानी समेतका नाकाहरूबाट काम गर्ने केही व्यापारीहरूको सामान बरामद गरेका थिए ।

उनले तस्करी भएको सूचना दिन सक्छन् जुन काम सर्वसाधारणले गर्न सक्छन् । तर आंफैले सामान बरामद गर्न र तस्करहरूसंग जिल्लाको एसपीको घुमुवा भन्दै रकम उठाउने अधिकार कसले दियो ? जिल्लाका प्रहरीहरू नै प्रश्न गर्छन् । बारा जिल्लामा घर भएका निलम्बित असई बच्चा यादव अहिले पनि त्याहां नगई महेन्द्र चोकामा कोठा लिएर बसेका छन् । जागिरमा घुमुवा भए जस्तै अहिले पनि उनको धन्दा यही छ । उनलाई एसपी प्रकाश मल्लको संरक्षण भएको कारण यस्तो कार्य गरिरहेको जिल्लाका सिनियर अधिकृतहरू नै बताउँछन् ।

असई यादव सिपाही भए देखि नै बारा र पर्सामा धेरै लामो समयदेखि घुमुवाको रूपमा परिचालित मात्रै होइनन कि ज्यादै बिबादित पनि हुन । कहिले एसपी , कहिले एसएसपी , कहिले डिआइजी त कहिले आइजिपीको घुमुवाको रूपमा समेत उनी परिचालित थिए । सर्वेन्द्र खनाल आइजिपी हुदा यादव सोझै सचिवालयबाट तत्कालीन सइ हाल निरीक्षक केडी शाहको नेतृत्वमा परिचालित थिए ।अब अहिले प्रदेशमा नयाँ डिआइजी यज्ञबिनोद पोखरेल आएका छन् । उनले के गर्छन् मात्रै होइन महोत्तरीमा सरूवा भएर आएका एसपी श्याम कुमार राईले उनलाई त्यसरी नै परिचालन गर्छन् गर्दैनन् त्यो हेर्न बांकी नै छ । यादव गत मंसिरमा निलम्बनमा परेका हुन ।

प्रहरी जवानलाई गोली लागेर घाइते भएको घटनामा संलग्न असई बच्चा यादव भन्ने रामेश्वर प्रसाद यादव निलम्बित भएका थिए । डाँका समातेको खुसीमा पेस्तोल खेलाउँदा प्रहरी जवान राजेशकुमार साहलाई गोली लागेर घाइते भएको घटनामा उनलाई मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले निलम्बन गरेको हो । उनी महोत्तरीको हलखोरी प्रहरी चौकीका इन्चार्जको रुपमा कार्यरत्त थिए । असइ यादवलाई प्रदेश प्रहरी प्रमुख डिआइजी जनक भट्टराईले निलम्बन गरेका थिए । कात्तिक ३० गते राति असई यादव डाँका समातेको खुसीमा जिल्ला प्रहरी कार्यालय महोत्तरीमा भएको रात्री भोज खाएर फर्केपछि पेस्तोल खेलाउँदा सेन्टरी बसेका प्रहरी जवान राजेश कुमार घाइते भएका थिए । एक पाखुरामा गोली लागेर घाइते भएका जवानलाई असई यादवले घटना लुकाउन भारत उपचारमा पठाएका थिए ।

भारतीय प्रहरीले थाहा पाएपछि सप्तरी प्रहरीलाई खवर गरेका थिए । घाइते प्रहरी जवानको घर सप्तरी हो । सप्तरी प्रहरीले महोत्तरी प्रहरीलाई जानकारी गराएपछि मात्र यो घटना सतहमा आएको थियो ।

गत कात्तिक २० गते महोत्तरीको जलेश्वर नगरपालिका–८ सानो रतवाराका भुवनेश्वर चौधरीको घरमा हातहतियारसहितको ७÷८ जनाको समूहले लुटपाट गरेको थियो । त्यस घटनामा संलग्न रहेको आरोपमा गत कात्तिक २८ गते महोत्तरी प्रहरीले रौतहटबाट सर्लाही लालबन्दी नगरपालिका–२ बस्ने ३२ वर्षीय शक्ति पासवान र ३३ वर्षीय अजय पासवानलाई पक्राउ गरेर ल्याएको थियो । त्यही खुसीमा दुई दिनपछि कात्तिक ३० गते जिल्ला प्रहरी कार्यालय महोत्तरीमा रात्रिभोज आयोजना गरेको थियो । असई यादव पनि डाँका पक्राउ गर्न जाने टोलिमा खटेकाले उनलाई पनि रात्री भोजमा सहभागी गराइएको थियो । चौकीमा फर्केपछि रमाइलो गर्न पेस्तोल खेलाउँदै गर्दा पड्किएर गोली सेन्टरी बसेका जवान साहलाई लागेको थियो ।

प्रतिक्रिया





Top