अपहरण गिरोहका मुख्य नाइके राजन माझी पक्राउ

न्यूज डेस्क     २०८० फाल्गुन २७, आईतवार ०६:५२ बजे मा प्रकासित


जनकपुरधाम । भारतीय व्यवसायीको अपहरण गरी नेपाली भूमिमा फिरौती असुल्ने गिरोहका मुख्य नाइके पक्राउ परेको प्रहरीले दाबी गरेको छ । मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय महोत्तरी र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बुधबार विराटनगरको कञ्चनवारीस्थित खड्का होटलबाट अन्दाजी ४० वर्षीय राजेश भनिने राजन माझीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी राजन दाहालका अनुसार उनी अपहरण र फिरौती असुलीबाहेक अन्य अपराधिक घटनामा पनि संलग्न रहेको पाइएको छ ।चारवटा डाँकाचोरीको मुद्दा उनीमाथि अदालतमा चलिरहेको छ । डाँका मुद्दामा नै तिव्र खोजीमा परेका उनलाई पक्राउ गरेर गत बिहीबार जिल्ला अदालतम मोरङमा पेश गरिएको डीएसपी दहालले बताए ।

 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गत पुस र माघ महिनामा भारत बिहारको सितामढी जिल्ला सोनवर्षा बजारका दुईजना व्यवसायीलाई अपहरण गरेको घटनाका राजन मुख्य नाइके हुन् ।फिरौती माग्नेको मोबाइलमा आवाज उनैको जस्तो देखिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले बताए ।
गत माघ १६ गते सोनवर्षा बजारका इँट्टा भट्टा व्यवसायी ३४ वर्षीय अभिषेक कुमार अपहरणमा परेका थिए । उनलाई अपहरणकारी गिरोहले नेपाल ल्याएर तीन करोड रुपैयाँबाट बार्गेनिङ गरेको थियो । तर अन्तमा ५० लाख भारतीय रुपैयाँ फिरौती लिएर माघ २६ गते बिहान सर्लाहीको संग्रामपुर स्थित नेपाल भारत सीमा नजिक मुक्त गरेका थिए ।सोनर्षाकै औषधि व्यवसायी कामेश्वर रायको पनि गत २ डिसेम्बरमा अपहरण गरी सोही गिरोहले नेपाल ल्याएको थियो ।

 

पाँच दिन पछि ३० लाख रुपैयाँ भारु अर्थात ४८ लाख रुपैयाँ नेपाली फिरौती लिएर उनलाई ७ डिसेम्बरमा अपहरणकारीले महोत्तरीको सम्सीबाट मुक्त गरेको थियो ।‘यी दुबै अपहरण घटनामा उनको गिरोहको संलग्नता रहेको अनुसन्धानबाट खुलेको छ ।

 

फोनमा फिरौती माग्दाको भ्वाइस पनि उसकै रहेको जस्तो देखिन्छ । उनी खतरनाक अपराधी हुन्’ डीएसपी गिरीले अनलाइनखबरसंग भने ।उनका अनुसार पक्राउ परेका राजनको विराटनगरमा केही अपराधिक मुद्दा रहेकाले त्यहाँ कारबाही सकिएपछि महोत्तरी ल्याएर शरीर बन्धक मुद्दा चलाइने छ । उनीमाथि अझ अनुसन्धान गर्नुपर्ने डीएसपी गिरीको भनाइ छ ।

प्रतिक्रिया





Top