सबैला : विद्यालयको अतिक्रमिण जग्गा खाली गराएपछि स्थानीयहरु खुसी

न्यूज डेस्क     २०८० चैत्र २, शुक्रबार १७:५८ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको सबैला नगरपालिकावडा नम्बर १३ ढोलबाजामा रहेको कमलामाई आधारभूत विद्यालयको जग्गा अतिक्रमण गरी बनाइएका घरटहरामाथि डाेजरले हटाइएको छ ।

सबैला नगरपालिकाकी नगर उपप्रमुख रहिमा खातुनले विद्यालयको जग्गा अतिक्रमण गरी बनाइएका घरटहरा हटाउन विद्यालय व्यवस्थापन समितिले न्यायिक समितिमा निवेदन दिएपछि त्यसको कार्यन्वयन गरिएको बताउनुभयो ।विद्यालयको नाम रहेको एक बिघा १० कठ्ठा जग्गा स्थानीयले २० औं वर्षदेखि अतिक्रमण गरी बनाइएका घरटहरा बिहीबार सबैला नगरपालिकाको न्यायिक समिति, विद्यालय व्यवस्थापन समिति, स्थानीय राजनीतिकर्मी, सुरक्षाकर्मी र स्थानीय युवाहरु मिलेर खाली गराइएको हो ।

आफूले कानुनको दायराभित्र रहेर अतिक्रमित जग्गा खाली गराएको बताउँदै उहाँले जेसिबी लगाउनुअघि जग्गा नाप जाँच गरी छुट्टयाएको र पहिलो पटक ३५ दिने, दोस्रो पटक सात दिने र अन्तिम पटक २४ घण्टाभित्र जग्गा खाली गर्न सम्बन्धित व्यक्तिहरुलाई सूचना दिएको जानकारी दिनुभयो ।

जग्गा खाली गर्न पटकपटक सूचना दिएपनि स्थानीयले अटेर गरेपछि बाध्य भएर सबै पक्षको सहयोगमा घरटहरा हटाइएको नगर उपप्रमुख खातुनको भनाइ छ । उहाँले जग्गा खाली नगराउन थुप्रै राजनीतिक दबाब आएको बताउँदै त्यसको कुनै परवाह नगरी कानुनको अधिनमा रहेर विद्यालयको अतिक्रमित जग्गा खाली गराएको बताउनुभयो ।

विद्यालयको अतिक्रमिण जग्गा खाली गराएपछि स्थानीय पनि खुसी देखिएका छन् । स्थानीय पशुपति यादवका अनुसार हुने खाने केही व्यक्तिले विद्यालयको जग्गा अतिक्रमण गरिराखेका थिए । अहिले खाली भएपछि सबैलाई राम्रो भएको छ । विद्यालयको जग्गा विद्यालयले नै उपयोग गर्न पाउनुपर्ने उहाँका भनाइ छ ।

प्रतिक्रिया





Top