हुन्डी कारोबारी पक्राउ

न्यूज डेस्क     २०८० चैत्र ३, शनिबार २१:५० बजे मा प्रकासित


वीरगन्ज । पर्सा प्रहरीले हुन्डी कारोबारमा संलग्न रहेका ४ जनालाई विभिन्न बैंकको डिपोजिट स्लिप, चेकबुक र नगदसहित वीरगन्जको आदर्शनगरबाट पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले बिहीबार २ बजेतिर वीरगन्ज महानगरपालिका १० आदर्शनगरस्थित कुनालकुमार जैसवालको किराना पसलबाट विभिन्न बैंकको १३ थान चेकबुक, विभिन्न मितिमा काटिएका ६६ थान चेक, नबिल बैंकमा बिहीबार जम्मा भएको ४ लाख ५९ हजार, एनआईसी एसिया बैंकमा जम्मा भएको ८ लाख ३ हजार, राष्ट्रिय वाणिज्य बैंकमा जम्मा भएको १८ लाख ५० हजार रुपैयाँ भरेको डिपोजिट स्लिप बरामद भएको छ ।

प्रहरी नायव उपरीक्षक कुमार विक्रम थापाका अनुसार ४ लाख ३ हजार रुपैयाँ नगदसमेत बरामद भएको छ । अवैध वित्तीय कारोबार हुन्डीमा संलग्न रहेको आरोपमा प्रहरीले कुनालकुमार जैसवाल, वीरगन्ज २२ का वीरेन्द्र साह तेली, वडा नम्बर २० की रेखाकुमारी साह र पर्साको जगरनाथपुर गाउँपालिका ६ निवासी मितुकुमार कुर्मीलाई नियन्त्रणमा लिएको पर्सा प्रहरी प्रवक्तासमेत रहेका थापाले जनाए । उनीहरुलाई बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान अगाडि बढाइएको छ ।

प्रतिक्रिया





Top