सर्लाही । सर्लाहीको बागमती नगरपालिकामा मंगलबार साँझ भएको वृद्धाको हत्यामा संलग्न व्यक्तिलाई सार्वजनिक गरिएको छ ।
बिहीबार पत्रकार सम्मेलन गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीले घटनामा संलग्न रौतहटको बृन्दावन नगरपालिका-५, नरकटिया घर भई बागमती आसपासमा काम गरेर बसेका अन्दाजी ३९ वर्षका प्रमोद झा भनिने प्रमोद चौधरीलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
बागमती नगरपालिका-४ स्थित जिरायतमा बौधी महतोकी श्रीमती ७० वर्षीया पार्वती देवीको हत्या भएको अवस्थामा आफ्नै घरमा शव फेला परेको थियो ।
घटनाका विषयमा जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय हरिवनको टोली घटनास्थलमा पुगेको थियो । अनुसन्धानका क्रममा घटनास्थलबाट एक बोरा धान हराएको र धान पोख्दै लगेको देखिएपछि प्रहरीले पछ्याएको थियो ।
सोही क्रममा घटनास्थलबाट चौधरीले लगेको धान गाउँ नजिकै बेच्न खोजेको समेत सीसीटीभीमा देखिएको थियो । सोही आधारमा पक्राउ गरिएको चौधरीले धान लुट्न लागेका बेला वृद्धाले प्रतिकार गर्न खोज्दा नजिकै रहेको चिर्पट प्रहार भएको सर्लाही प्रहरीको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले घटनास्थलबाट वृद्धाको टाउकोमा प्रहार गरेको चिर्पट बरामद गरेको थियो । चौधरीले पोख्दै लगेको धान समेत प्रहरीले बरामद गरेको छ । उनीमाथि कर्तव्य ज्यान मुद्दामा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया