सामाजिक सञ्जालमा गालीबेइज्जतीका घटना बढेपछि

न्यूज डेस्क     २०८१ जेष्ठ १९, शनिबार ११:१५ बजे मा प्रकासित


काठमाडौं । सामाजिक सञ्जालमा गालीबेइज्जतीका घटना बढिरहँदा प्रहरीले स्पष्ट कानुनको अभावमा कारबाही गर्न गाह्रो भएको जनाएको छ । फेसबुक, युट्युबजस्ता सामाजिक सञ्जालको प्रयोग गरी व्यक्तिका चरित्र हत्या गर्ने, अपमानित गर्ने घटनाका उजुरीको संख्या दिनहुँ बढिरहेको प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीको साइबर ब्युरोका प्रवक्ता दीपकराज अवस्थीका अनुसार चालु आर्थिक वर्षमा मात्र गालीबेइज्जती गर्ने खालका पोस्टबारे १५ सय उजुरी दर्ता भएका छन् । विद्युतीय कारोबार ऐनअनुसार यस्ता प्रकृतिका उजुरीमा कारबाही हुने गरे पनि प्रहरीले अझै स्पष्ट कानुन बनाउन सरकारलाई आग्रह गरेको छ ।

फेसबुक, इन्स्ट्राग्रामजस्ता सामाजिक सञ्जालका खाता र इमेल ह्याक गरेको उजुरीपछि प्रहरीले सम्बन्धित कम्पनीलाई इमेल गरेर कारबाहीका लागि अनुरोध गर्छ । तीमध्ये ह्याक भएका सामाजिक सञ्जालका खाता पुन: वास्तविक व्यक्तिकै पहुँचमा पुग्न सक्ने अवस्था भने रहँदैन । ह्याक भएका सामाजिक सञ्जालका खाताबाट पैसा माग्ने, अश्लील सामग्री पोस्ट हुने गरेका छन् ।
जसले गर्दा खाता भएका व्यक्ति पीडित हुने गरेको प्रहरीले जनाएको छ । चालु आर्थिक वर्षमा साइबर ब्युरोमा ह्याकिङका झन्डै आठ हजार उजुरी परेका छन् । तीमध्ये कतिको खाता वास्तविक व्यक्तिको पहुँचमा पुग्यो त्यसको यकिन तथ्यांक भने नरहेको प्रवक्ता अवस्थी बताउनुहुन्छ ।
सम्बन्धित सामाजिक सञ्जालको गाइडलाइनअनुसार सामग्री अपलोड भएमा ती केही पोस्ट हट्ने गरेको ब्युरोले जनाएको छ । नेपाल प्रहरीले उजुरीका आधारमा सामाजिक सञ्जालका कम्पनीलाई गरेको गुनासोको सुनुवाइ नै सुस्त गतिमा हुने गरेको छ ।

सामाजिक सञ्जाललाई नेपालमै दर्ता गर्नुपर्नेबारे बहस भए पनि यसको कानुनी आधार तय भइसकेको छैन । यसले गर्दा फेसबुक, एक्सजस्ता सामाजिक सञ्जालको दुरुपयोग वा कानुनविपरीत क्रियाकलाप भए पनि त्यसको नियमन हुन नसकेको अवस्थी स्वीकार्नुहुन्छ ।

 

सामाजिक सञ्जालका पासवर्ड गोप्य नराख्ने, ओटीपी अरु कसैलाई दिने, सहजै अनुमान गर्न सकिने पासवर्ड राख्नेजस्ता कमजोरीका कारण सामाजिक सञ्जालका खाता ह्याक हुने गरेका हुन् ।त्यसैगरी असुरक्षित मानिएका वेबसाइट खोल्ने, गिफ्ट वा फ्री सफ्टवेयरको लोभमा फाइलहरु इन्स्टल गर्ने प्रवृत्तिले पनि सामाजिक सञ्जालका खाता ह्याक हुने गरेका छन् । प्रयोगकर्ता आफैं सचेत भएमा साइबर अपराधीको निशानामा पर्नबाट जोगिन सक्ने प्रहरीको भनाइ छ ।

प्रतिक्रिया





Top