मधेश प्रदेश : जनमत नेतृत्वको सरकारलाई एमालेले विश्वासको मत दिने

न्यूज डेस्क     २०८१ असार २२, शुक्रबार २१:०८ बजे मा प्रकासित


जनकपुरधाम । संघमा गठबन्धन फेरिएसँगै प्रदेशमा समेत सरकार परिवर्तन हुन लागिरहेका बेला मधेश प्रदेशमा जनमत नेतृत्वको सरकारलाई नेकपा एमालेले विश्वासको मत दिने भएको छ ।

मधेशका मुख्यमन्त्री सतीशकुमार सिंहले शनिबार विश्वासको मत लिँदै छन् । मधेश प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको शनिबारको कार्यसूचीमा विहान ११ बजे मुख्यमन्त्री सिंहले विश्वासको मत लिने उल्लेख छ ।

नेकपा एमाले मधेश प्रदेशका प्रमुख सचेतक हरिनारायण महतोले जनमत नेतृत्वको सरकारलाई विश्वासको मत दिने बताएका छन् । ‘संघीय निर्देशन पनि त्यस्तै आएको छ‚’ उनले भने, ‘संघीय गठबन्धनको निर्देशन प्राप्त नभएसम्म यसै सरकारलाई समर्थन रहनेछ ।’

मधेशमा जनमत नेतृत्वको सरकारमा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी सहभागी छ । सरकारलाई ५५ जना सांसदको समर्थन छ । मधेश प्रदेशमा १०७ जना सांसद रहेका छन् ।

संघीय गठबन्धन अनुसार प्रदेशमा पनि सरकार हेरफेर भइरहेपनि मधेशमा कांग्रेस र एमाले संसदीय दलका नेताहरुबीच भेटवार्ता भएको छैन । नेकपा एमाले संसदीय दलका नेता समेत रहेका भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले संघीय गठबन्धनको निर्णयअनुसार नै प्रदेशमा सरकार बन्ने बताएका छन् ।

‘संघीय गठबन्धनको निर्णयअनुसार नै प्रदेशमा सरकार बन्नेछ‚’ उनले भने, ‘हालसम्म पार्टीको केन्द्रीय निर्देशन प्राप्त नभएकाले वर्तमान गठबन्धन नै कायम छ ।’

प्रतिक्रिया





Top