जनकपुरधाम । धनुषामा तस्करी बढेको छ । जनकपुर भन्सार कार्यालयले लक्ष्यअनुसार राजस्व उठाउन सकेन । भन्सार कार्यालयले चालू आर्थिक वर्ष (आव) २०८०÷८१ को असार २५ गतेसम्ममा ४४ करोड ५४ लाख ८७ हजार राजस्व संकलन गरेको छ । कार्यालयले चालू आवमा ५१ करोड ७४ लाख ९० हजार राजस्व संकलनको लक्ष्य पाएको जनकपुर भन्सार कार्यालयका सूचना अधिकारी रबिन्सलाल दासले बताए ।
कार्यालयका अनुसार गत आव २०७९÷८० को तुलनामा चालू आवको असार २५ गतेसम्ममा उक्त भन्सारको राजस्व करीब ४४ प्रतिशतले बढेको छ । गतवर्ष कार्यालयले ४९ करोड ४४ लाख ५१ हजार राजस्व संकलनको पाएकोमा ३० करोड ९६ लाख ६८ हजार असुली गरेको थियो । जनकपुर भन्सार कार्यालय, जटही नाकाबाट आयात हुने प्रमुख वस्तुमा कपडा, खेलकुदका सामग्री, हार्डवेयर र रासायनिक मल लगायत रहेको कार्यालयका सूचना अधिकारी दासले बताए । कार्यालयले राजस्व असुली बढाउन सीमा नाकाहरूमा नियमित अनुगमन, सुरक्षाकर्मीसँग समन्वय र सहकार्यमा जोड दिएको जानकारी उनले दिए ।
भन्सार कार्यालयले लगातार किन घाटा व्यहोरिरहेको छ त भन्सार कार्यालयले ?, ‘खुला सीमा नाका कारण दैनिक ठूलो परिणामले हुने अवैध चोरी पैठारी र तस्करी।’ भन्सार कर्मचारी, त्यहाँ परिचालन भएका सुरक्षाकर्मीहरूको मिलेमतोमा तस्करी हुने गरेको बेलाबेला आरोप लाग्दै आएको छ। दैनिक भन्सार छली चोरी पैठारी गरेर सामान आयात हुँदा यसको प्रत्यक्ष असर राजस्व सङ्कलनमा परेको छ। बर्सेनि राजस्व गिरावट हुनुको प्रमुख कारण नै यही भएको कतिपयको भनाइ छ। राजस्वको लक्ष्य भेटाउन नसक्नुको प्रमुख कारण भने आयात घट्नु भएको जनकपुर भन्सार कार्यालयले जनाएको छ। सीमा क्षेत्रमा जति सुरक्षा नीति अपनाए पनि तस्करी नियन्त्रण भएको देखिँदैन। खुला सीमा क्षेत्रका कारण पनि अवैधरुपमा भारतबाट भन्सार छलि पैठारी हुने गरेको छ। यसको प्रभाव राजस्व सङ्कलनमा परेको देखिन्छ ।
नेपालबाट मुख्यतः रक्सी, स्याउ, कोलगेट टुथपेस्ट, फेयर लबली, सुपारी लगायतका मालसामान भारत पठाउने गरिएको छ । ठुला ब्यापारीहरुले भारतबाट रातारात लत्ताकपडा, हार्डबेयर, इलेक्ट्रोनिक्स समान, तेल, चिनीलगायतका मालसामान ओसार्ने गरेको देखिन्छ । भारतसँग जोडिएको मधेश प्रदेशको आठै जिल्लाको झण्डै ४ सय ६६ किलोमिटर भन्दा बढी दूरीको खुल्ला सीमाना छ । जसमध्ये धनुषामा झण्डै ४९ किलोमिटर पर्दछ । खुल्ला सीमाका कारण हुँदै आएको आपराधिक र अबैध कारोबार नियन्त्रणका लागि सरकारले बाक्लै सुरक्षाकर्मी परिचालन गरे पनि तस्करी फस्टाएको छ ।








प्रतिक्रिया