मधेश प्रदेश : बन्धक बनाइएका २८ मजदुरको भारतबाट उद्धार

न्यूज डेस्क     २०८१ श्रावण ११, शुक्रबार १६:१५ बजे मा प्रकासित


जनकपुरधाम । भारतको जम्मु कश्मीरको श्रीनगरमा ५ महिनादेखि बन्धक बनाइएका धनुषाका ४३ मजदुर मध्य २८ मजदुरको उद्धार गरिएको छ । धनुषा र सिरहाका २८ जना पुरुष मजदुरलाई भारतबाट उद्धार गरी शुक्रबार नेपाल ल्याइएको हो । जसमा धनुषाधाम नगरपालिकाबाट ७ जना रहेको छ ।

उद्धारका लागि भारत गएको मन्त्रालयका सचिव दिनेश भट्टराई नेतृत्वको टोलीले शुक्रबार उनीहरूलाई नेपाल फर्काएको हो । उनीहरूलाई आजै दुवै जिल्लाका मानव बेचबिखन नियन्त्रण समितिलाई जिम्मा लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय, धनुषाको अनुसार बिचौलियामार्फत रोजगारीका लागि भनेर भारत पुगेका उनीहरू पााच महिनादेखि नै परिवारसागको सम्पर्कमा थिएनन् । आफन्त र पीडित मजदुरको सूचनाका आधारमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले उद्धारका लागि तदारुकता देखाएसागै उनीहरूको उद्धार गरिएको हो ।

 

मानव बेचबिखन नियन्त्रण समितिले अब मजदुरहरूलाई परिवारको जिम्मा लगाउनेछ । उनीहरूलाई कसरी र कसले पठाएको भन्ने विषयमा अनुसन्धान हुने जिल्ला प्रशासन कार्यालय, धनुषा शाखा  प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद भुसालले बताए । ‘आजै उनीहरूलाई परिवारको जिम्मा लगाउने छौं,’ उनले भने, ‘त्यसपछि लगत्तै यसमाथि अनुसन्धान सुरु हुनेछ, यसमा संलग्नलाई अनुसन्धानको दायरामा ल्याएर कानुनी कारबाही हुनेछ ।’

प्रतिक्रिया





Top