जनकपुरधाम । सर्लाहीको बरहथवामा आज देखि आयोजना हुने श्री कृष्ण जन्माष्टमी महोत्सवमा नृत्याँगना प्रीति पासवान, निरुता साह र कमेडियन मनि मिराजको सट्टा रद्द भएको छ ।
हिन्दु धर्ममाथि विवादित बयान दिएकोले महोत्सवमा उनीहरुलाई नबोलाउन हिन्दु सम्राट सेनाले चेतावनी दिएपछि ऊनीहरुको सट्टा रद्द भएको हो ।
हिन्दु सम्राट सेना सर्लाहीका अध्यक्ष कृष्ण यादवले भने, `बिदेशमा कार्यक्रम गर्न गएको बेला नृत्याँगना प्रीति पासवान र निरुता साहले हिन्दु धर्मप्रति विवादित टिप्पणी गरेका छन्, हिन्दुहरुलाई गालीगलौज गरेका छन् । बरहथवाको महोत्सवमा उनीहरुलाई नल्याउन हामीले आयोजकलाई चेतावनी दिएका छौँ, यदि मानेनन् भने हामी प्रतिकार गर्नेर्छौ।´ हिन्दु सम्राट सेनाले सर्लाहीसहित विभिन्न जिल्लाका प्रशासनलाई सँस्कृति कार्यक्रमको नाममा ओरकेष्ट्रा नचाउन नदिने ज्ञापन पत्रसमेत बुझाएको उनले बताए ।
महोत्सवका अध्यक्ष अजय लामाले हिन्दु सम्राट सेनाले दिएको चेतावनीमाथि दुखेसो पोखेका छन् । उनले भने, `हिन्दु सम्राट सेनाले यस्तो कुरा पहिल्यै भन्नुपर्ने थियो । हामीले लगभग १५ दिनदेखि महोत्सवमा यी कलाकारहरु पनि आउने भनी प्रचार गराइरहेका छौँ । तर, यतिका देनदेखि केही भनेनन्, हिजो आइतबार डाइरेक्ट फोन गरेर भन्छन् उनीहरुलाई नल्यानु भनेर।´
हिन्दु सम्राट सेनाको चेतावनीपछि उनीहरुलाई महोत्सवमा ल्याउन प्रशासनले आदेश नदिएपछि उनीहरुको सट्टा रद्द गर्नुपरेको उनले बताए । उनका अनुसार प्रीति, निरुता र मनि मिराजको सट्टा रद्द भएपनि (भदौ १० गते) आज देखि भदौ २३ गतेसम्म आयोजना हुने महोत्सवमा आउने भनिएका अन्य कलाकारहरु भने आउने छन् ।








प्रतिक्रिया