मधेस प्रदेशका डीआईजी पोखरेलको खातामा अवैध रकम, एक बिचौलिया पक्राउ

न्यूज डेस्क     २०८१ भाद्र १७, सोमबार ००:११ बजे मा प्रकासित


जनकपुरधाम । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बुधबार रुपन्देही पुगेका बेला सबै प्रहरी अधिकारीको बैंक खाता जाँच भइरहेको र एकजना डीआईजी फस्न लागेको खुलासा गरेका थिए । अन्ततः आइजीपी कुँवरको संकेत मधेस प्रदेशका डीआईजीतिर लक्षित रहेको खुलेको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीको भवन उदघाटन कार्यक्रममा बोल्दै आइजीपी कुँवरले प्रहरीमा आन्तरिक शुद्धीकरणको अभियान चलिरहेको बताएका थिए । उनले कुनै गलत काममा नलाग्न मातहतका प्रहरीलाई चेतावनी दिएका थिए । उनले एकजना डीआईजी फस्न लागेको बताएपछि यो विषयले संगठनभित्र हल्लीखल्ली नै मच्चियो ।

स्रोतका अनुसार आइजीपीले संकेत गरेका डीआईजी हुन्– मधेस प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल । उनको बैंक खातामा अस्वभाविक कारोबार भेटिएको भन्दै छानविन सुरु भएको प्रहरीको उच्च स्रोतल बतायो ।

डीआईजी पोखरेलको विषयमा छानविनका क्रममा जाँदा ‘लहरो तान्दा पहरो गर्जिने’ उखानजस्तै भएको छ । फलस्परुप भ्रष्टाचार र अनैतिक धन्दामा डीआइजीको नेटवर्कलाई साथ दिएको आशंकामा मधेसका ९ र कोशीका एकजना प्रहरीलाई वयानका लागि छानविन समितिले हेडक्वार्टरमा झिकाएको छ ।
एक बिचौलिया पक्राउ डीआईजी पोखरेलमाथि भइरहेको छानविनका क्रममा उनले बिचौलियामार्फत लेनदेन गरेको भेटिएको प्रहरी हेडक्वार्टरको दाबी छ । पोखरेलले जितेन्द्र कर्ण नामक बिचौलियामार्फत तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको स्रोत बताउँछ ।

लेनदेन गरेको प्रमाण भेटिएपछि काठमाडौबाट मधेस झरेको प्रहरी टोलीले जनकपुरबाट बिचौलिया जितेन्द्र कर्णलाई अनुसन्धानका लागि पक्राउ गरेर काठमाडौ लगेको स्रोतले बतायो ।
यस सम्बन्धमा प्रतिक्रिया लिन खोज्दा डीआइजी पोखरेलसँग सम्पर्क हुन सकेन । मधेस प्रहरी कार्यालयमा सम्पर्क गर्दा आन्तरिक विषयमा बोल्न नमिल्ने जवाफ आयो ।

प्रतिक्रिया





Top