जनकपुरधाम । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र जनकपुरकाे राजदेवी मन्दिर र सबैलाकाे दुर्गा मन्दिरमा दर्शनार्थीहरुको भीड लाग्न सुरु भएको छ ।
प्रत्येक बर्ष दशैँमा भव्य मेला लाग्ने राजदेवी मन्दिर र सबैला दुर्गा मन्दिरलाई यस बर्ष पनि नवदुल्ही जस्तै सजाईएको छ । रँगरोगनसहित मन्दिर प्राँगनमा आकर्षक पण्डलासहित भव्य सजावट गरिएको छ ।
दशैँको पहिलो दिन घटस्थापनादेखि नै सबैलामा दर्शनार्थीहरुको भीड सुरु भएको छ । प्रत्येक दिन भीडभाड रहने प्रसिद्ध शक्तिपीठमा दशैँमा सयौँ गुणा अधिक भीड हुन्छन् ।
मधेश प्रदेशको राजधानी जनकपुरधाममा महावीर युवा कमिटिको जिम्मामा रहेको र सबैलामा श्री १०८ श्री माँ दुर्गा भवानी प्रतिष्ठान सबैला द्वारा आयोजना रहेको मेला समिति दुर्गा मन्दिरको पूजापाठ, बलिपूजाको लागि तयारी पूरा गरिएको हो । श्रद्धालुहरुको सहजताको लागि स्वयंसेवक खटाइएको छ ।
यता, हिन्दु सम्राट सेनाले राजदेवी मन्दिरभित्र र सबैलाकाे दुर्गा मन्दिर भित्र उच्छृँगल गतिविधि गर्नेलाई ठाउँको ठाउँ कारवाही गरिने जनाएको छ । हिन्दु सम्राट सेना नामक संगठनले छपरी ग्याँगलाई निषेध गरिएको बताए ।
टिकटोकर, रिल्स बनाउने, आस्थासँग खेलवाड गर्ने, भक्तिको नाममा डेटिँग जस्तै व्यवहार दर्साउनेलाई भौतिक कारवाहीको चेतावनी दिएको हो । हिन्दु सम्राट सेनाका अध्यक्ष राजेश यादवले जनकपुरधामकाे राजदेवी मन्दिर र सबैला लगायत विभिन्न कुना काप्चामा हिन्दु सम्राट सेनाको स्वयंसेवक खटेको र निगरानी राखेको बताए ।
उनले राजदेवी मन्दिर र सबैला मन्दिर प्राँगनमा खास गरी साँझको समयमा हुने यस्ता गतिविधि, फोटो सुट, भिडियो बनाउने, गैर भक्ति गीतमा टिकटोक बनाउनेको मोबाईल जफ्त गरी भौतिक कारवाही गर्ने जनाएको छ । उनले प्रशासनको प्रतिक्षा नगरी त्यस्ता उच्छृँगल गर्नेलाई ठाउँको ठाउँ रामधुलाई गर्ने खुल्ला चेतावनी दिएको हो । उनले त्यसमा युवा, युवति, किशोर किशोरी जे भएपनि रामधुलाई हुने जनाएको छ ।
प्रतिक्रिया