जनकपुरधाम । सिया रघुनाथ सदनको जग्गा कब्जा भइरहँदा संरक्षणको दायित्व बोकेको गुठी संस्थानको कार्यालय चुपचाप बसेको छ ।
जनकपुरधाम उपमहानगरपालिका –८ स्थित सदनको करिब डेढ विघा जग्गामा विभिन्न १६ जनाले एकैसाथ घर निर्माण थालेका छन् । उनीहरुले प्रतिधुर डेढ लाखदेखि दुई लाख रुपैयाँसम्म बुझाएर आफुहरुले जग्गा खरिद गरेको दावी गरिरहेका छन् । तर, जग्गाको स्वामित्व रहेको सदनका महन्त नामदेव शरणले भने कसैलाई कुनै जग्गा बिक्री नगरेको बताउँछन् ।
शरणले आफै रोक्न नसकेपछि मन्दिरको जग्गामा अवैध संरचना निर्माण भइरहेको जानकारीसँगै रोक्नका लागि माग गर्दै उपमहानगरपालिकामा उजुरी गरेका छन् । सोही उजुरीको आधारमा उपमेेहानगरपालिकाले तत्काल उक्त निर्माण कार्य रोकेको छ ।
उपमहानगरपालिका क्षेत्रभित्र नक्शापास नगरी कुनै पनि भौतिक संरचना निर्माण गर्न नदिने अडान नगर प्रमुख मनोज साहले लिएका छन् । सार्वजनिक जग्गामा अवैध भौतिक संरचना निर्माण हुन नदिन कानुन अनुसार अघि बढ्ने साहले बताए ।
मन्दिरको संरक्षणमा रहेको उक्त जग्गा कब्जामुक्त गराउन महन्त शरणले कानुनको सहारा माग्दै भौतारिरहँदा गुठी संस्थानको कार्यालय भने मौन छ ।
प्रतिक्रिया