जति–जति रात परेपछि टिकटक लाइभमा उपद्रो सुरु ?

न्यूज डेस्क     २०८१ माघ २५, शुक्रबार २१:१३ बजे मा प्रकासित


केपी शर्मा ओलीले ठिकै भनेका हुन्, ‘चान्स पायो भने नेपालीले गर्छ ।’ नेपालीले केके गर्छ भनी थाहा पाउन चाहिँ टिकटक चाहर्नुपर्छ । भिडियो साझेदारी प्लेटफर्म टिकटकमा जब तपाईं प्रवेश गर्नुहुन्छ, त्यहाँ अनेक तमासा देख्नुहुनेछ ।

ख्यालठ्टा गर्ने, चर्काचर्की पर्ने, बाजी थाप्ने, नाच्ने–गाउने, मुख छाड्ने । टिकटक लाइभमा के मात्र हुँदैन रु भौतिक दुनियाँमा नदेखेका, नभेटेका, नसुनेका कुराहरु सबै त्यही हुन्छन् । त्यहाँ अनेक पात्र छन् र उनीहरु अनेक हर्कत गरिरहेका हुन्छन् ।

 

उनीहरुको हतारो र व्यस्तता कतिसम्म भने, आरामले खाने वा शौच जाने फुर्सद पनि छैन । टिकटक लाइभ स्ट्रिमिङमै भात खाने, लुगा फेर्नेदेखि मस्त सुत्नेहरुसम्म छन् ।

एकाबिहानै जसलाई तपाईं टिकटक लाइभमा ‘ट्याप–ट्याप’ भनिरहेको देख्नुहुनेछ मध्यरातमा पनि उही व्यक्ति फेला पार्नुहुनेछ । उही स्थानमा, उस्तै अवस्थामा । उनीहरु भनिरहेका हुनेछन्, ‘फलानोलाई फलो गरौं गाइज । डबल ट्याब लगाउँदै जाने‘।’

 

यस्तो लाग्छ, आधासरो नेपाली त त्यहीँ छन् । दिनमा पनि, रातमा पनि । त्यहाँ समयको कुनै पाबन्दी छैन । टिकटक लाइभमा यत्तिका मान्छेहरु के गर्छन् रु किन यतिबिघ्न मरिहत्ते गर्छन्

यी प्रश्नको केन्द्रमा सबैभन्दा लोभलाग्दो जवाफ छ, ‘पैसा ।’

जति–जति रात छिप्पिदै जान्छ टिकटक लाइभमा उपद्रो सुरु हुन्छ । एकअर्कासँग छिल्लिने, कामुक हाउभाउ देखाउने, अशोभनीय हर्कत गर्ने, मुख छाडेर गाली गर्ने उपक्रम जारी रहन्छ ।
टिकटक लाइभमा हुने तमाम झाँकीको पछाडि ‘पैसा’ जोडिएको छ । त्यहाँ पैसा कमाउन पसिना बगाउनु पर्दैन, कुनै व्यवसायिक योजना बनाउनु पर्दैन, अतिरिक्त पुँजी दाउमा राख्नु पर्दैन, विशेष दक्षता वा सीपको बायोडाटा पेस गर्नुपर्दैन ।

बस्, टिकटक लाइभमा आएर अन्य प्रयोगकर्तालाई आफूमा एकत्रित गर्नुपर्छ । उनीहरुलाई भुलाउनुपर्छ । रिझाउनुपर्छ । नाचेर, गाएर, छाडा बोलेर, गेम खेलेर । कुनै न कुनै तबरले लाभान्वित तुल्याउनुपर्छ । यसमा एक किसिमको अघोषित साझेदारी हुन्छ, फलोअर्स बढाउने र त्यसबापत गिफ्ट दिने ।

होस्टले त्यही गेस्टको ‘फलोअर्स बढाउन’ अनुरोध गर्छन्, जसले गिफ्ट दिन्छन् । उक्त भर्चुअल गिफ्ट डलरमा रुपान्तरण गरेर आफ्नो खल्तीमा ल्याउन सकिन्छ । यसरी टिकटकमा प्राप्त हुने क्वाइनलाई डलरमा र डलरलाई नेपाली रुपैयाँमा साट्नेहरुको यहाँ फेरी छुटै कारोबार छ ।

टिकटक लाइभमा उपलब्ध यही फिचर्स हो, जसले उन्मक्त नेपालीहरुको निद्रा बिथोलिदिएको छ । जति–जति रात छिप्पिदै जान्छ टिकटक लाइभमा उपद्रो सुरु हुन्छ । एकअर्कासँग छिल्लिने, कामुक हाउभाउ देखाउने, अशोभनीय हर्कत गर्ने, मुख छाडेर गाली गर्ने उपक्रम जारी रहन्छ । यसो गर्दा धेरै भन्दा धेरै ‘भिजिटर’ भेला हुने र फलोअर्स बढ्ने अपेक्षा गरिन्छ । त्यसमाथि गिफ्ट माग्ने र पाउने त छँदैछ ।

टिकटक लाइभमा बारम्बार देखिने अनुहार हुन्, पूण्य गौतम । उनी स्वयम् भन्छन्, ‘टिकटक लाइभमा विकृतिको भण्डार छ । छाडाहरुको घुइँचो छ । अरुको चरित्र हत्या गर्ने, दिल्लगी गर्ने, काण्ड मच्चाउनेहरु त्यहाँ छन् ।’ यस क्रममा उनले केही नामहरु लिए जो टिकटकमा ‘काण्ड’ मच्चाउन माहिर छन् । जस्तो, माइला दाइ, लुते कुकुर, ओली किङ, बिउ, हेन्सी आयुष ।

गौतम कतिसम्म भन्छन् भने, ‘जापानतिरका एकजना माइला दाइ भन्ने छन् । विकृतिको हेडमास्टर हुन् उनी ।’

टिकटक लाइभमा आएर ‘कान्ड मच्चाउनु’को पछाडि विकृत मानसिकता र पैसा नै मुख्य कुरा भएको उनी बताउँछन् । ‘त्यहाँ जति नकारात्मक कुरा गर्‍यो, जति अरुको उछितो काड्यो त्यती नै भिजिटर आउँछ’ गौतम भन्छन्, ‘त्यसैले उनीहरु जे गर्न पनि तयार हुन्छन् ।’

लाइभको लत

गौतम हरेक दिन नियमित दुईरतीन घण्टा लाइभमा बस्छन् । ‘लाइभमा बस्दा रिफ्रेस भइन्छ । सपोर्ट गर्नेले गिफ्ट पनि दिन्छन्’ उनी सुनाउँछन्, ‘मैले यसबाट राम्रै पैसा कमाएँ र उत्तिकै सहयोग पनि गरिसकें ।’ उनले क्यान्सर पीडित लगायत विभिन्न समस्यामा परेकालाई तीस लाख रुपैयाँ सहयोग गरेको बताए । कतिपयले टिकटक लाइभमा बसेर १० देखि १५ करोड रुपैयाँसम्म कमाउने गरेको उनको भनाइ छ ।

प्राय रातको समय टिकटक लाइभमा बस्नेहरु बढी सक्रिय हुन्छन् । एकै समयमा लाइभमा बस्दा भिजिटर बढ्छ । लाइभको लतले कसरी गाँज्दैछ भने दूरदराजकी प्रौढ महिलादेखि शहरका कुनै गल्लीमा बस्ने तन्नेरीसम्मले यसैलाई मुख्य कामधन्दा बनाएका छन् ।

टिकटक चलाउनकै लागि दुहुनो भैंसी बेचेको प्रसंगले पनि यसप्रतिको आशक्ति कति छ भनेर देखाउँछ । सुदूरपश्चिमकी एक महिलाले टिकटक चलाउन रिचार्ज गर्दागर्दै ५० हजार रुपैयाँ ऋण लागेको खबर आएको थियो । सोही ऋण चुक्त गर्न उनले दुहुनो भैंसी बेचेकी थिइन् ।

देश–दुनियाँका मान्छेहरुसँग जोडिन पाइने, मनलाग्दी कुरा गर्न पाइने, बसीबसी पैसा कमाउन सकिने सुविधाका कारण टिकटक लाइभमा ठूलो जमात एकोहोरिँदैछ । भौतिक रुपमा कहिल्यै नभेटेका मान्छेसँग ‘तँतँ–मम’को सम्बन्ध बनाउने, अन्तरंग कुराकानी गर्ने, झगडा गर्ने, तथानाम गाली गर्ने क्रम त्यहाँ बारम्बार चलिरहन्छ । टिकटक लाइभले नेपालीहरुको अर्को छुटै भर्चुअल दुनियाँ निर्माण गरिसकेको छ ।

सामाजिक सञ्जालमा विभिन्न कारणले ‘भाइरल’ भएकाहरुका लागि अझ काइदाको प्लेटफर्म बनेको छ, टिकटक लाइभ । थुप्रै गायक, कलाकार पनि यतातिर होमिएका छन् । त्यससँगै कति यस्ता पात्र छन्, जो टिकटक लाइभबाटै चर्चित बनेका छन् । उनीहरुले टिकटक लाइभबाट मनग्यै पैसा कमाउने गरेको बताइन्छ ।

टिकटक लाइभमा थरीथरीका गिफ्ट उपलब्ध हुन्छन् । उक्त गिफ्टको मूल्य ‘क्वाइन’मा हुन्छ । यस अनुसार कुन गिफ्टबाट कति क्वाइन पाइने हो भनी तय हुन्छ । जस्तो गुलाबको एक क्वाइन हुन्छ भने क्यापको ९९ । नट्टी चिकेनको २९९ क्वाइन हुन्छ भने तारापुञ्जको १००० । यी क्वाइनहरु डलरमा रुपान्तरण हुन्छन् ।

‘टिकटक लाइभमा बसेर फलानोले काठमाडौंमा दुई वटा घर जोडे’, ‘टिकटक लाइभबाट फलानोले एकै महिनामा एक करोड कमाए’ भन्ने जस्ता तात्तातो खबरले ‘टिकटक’मा मान्छेहरु अरु आकर्षित भएका छन् । र, छँदाखादाको कामकुरो छाडेर टिकटक लाइभलाई नै मूल कामधन्दा बनाएका छन् । यो पंक्तिमा मजदुरी गर्नेदेखि सेलिब्रेटी भनिनेहरुसम्म चलायमान छन् ।

जस्तो वर्षा राउत, राजाराम पौडेल, बान्द्रे नामले चिनिने सुरज चापागाईँ, सुष्मा कार्की । परिचित अनुहार भएकाले उनीहरुसँग झुम्मिने नै भए । त्यसैको लाभ उठाउँदै उनीहरुले ‘गिफ्ट माग्ने’ गरेका थिएरछन् । टिकटक लाइभमा बसेर ‘भिख मागेको’ भन्दै आलोचना भएपछि उनीहरुमध्ये कति पछि हटे ।

कुनै न कुनै काण्ड मच्चाउँदै विवाद र चर्चाको केन्द्रमा रहनेहरु टिकटकमा स्थान्तरण भएका छन् । उनीहरुको लागि यो ‘सेफ ल्यान्डिङ’ गर्ने ठाउँ मात्र भएको छैन बरु अझ चर्को विवाद खडा गरेर भिजिटर बढाउने माध्यम पनि बनेको छ ।

त्यसो त नेपालमा मात्र होइन, विश्वभर नै टिकटकको लाइभ स्ट्रिमिङ अनेक हर्कत गर्ने, गिफ्ट माग्ने, पैसा कमाउने धन्दा बनेको छ । प्रयोगकर्तालाई रियल टाइममा जोड्ने र एकअर्काको प्रतिभा देखाउने भन्दै सार्वजनिक गरेको टिकटकको यो सुविधा उच्छृखंल जमघटको मेलो बनेको छ । यो समाचार अनलाइन खबरमा लेखिउको छ ।

प्रतिक्रिया





Top