जनकपुर : २० निजी अस्पतालमा मधेशका मुख्यमन्त्री सिंह छड्के अनुगमन, अधिकांश विनादर्ता बन्द गर्न निर्देशन

न्यूज डेस्क     २०८१ माघ २७, आईतवार ०७:०३ बजे मा प्रकासित


जनकपुरधाम । अस्पतालमा उपचारमा लापरबाही बढेपछि मधेशका मुख्यमन्त्री सतिशकुमार सिंह एकैदिन जनकपुरधामका २० वटा अस्पतालमा छड्के अनुगमन गरेका छन् । जनकपुरधामको मुजेलियादेखि भ्रमरपुराचोकसम्मका बीस वटा निजी अस्पतालमा मुख्यमन्त्री सिंहले अनुगमन गर्दा अधिकांश अस्पताल बिनादर्ता र मापदण्ड विपरीत सञ्चालनमा रहेको पाइएको छ ।

जीवनज्योति हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, बिएन हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, जनकपुर सीता हस्पिटल प्रालि, जनकपुर ग्रान्डी हस्पिटल प्रालि, रामा मेमोरियल हस्पिटल एन्ड रिसर्च सेन्टर, मल्टी स्पेसयलिटी हस्पिटल एन्ड ट्रमा सेन्टर, समर हस्पिटल, केयर मेडिकल सेन्टर प्रालि, नेपाल एपोलो हस्पिटल प्रालि, श्रीराम हस्पिटल प्रालिमा मुख्यमन्त्रीले छड्के अनुगमन गरेका हुन् ।

यस्तै उनले नयना अस्पताल प्रालि, अरमान हस्पिटल प्रालि, मिहिलाल इन्टरनेसनल प्रालि, सहयोग हस्पिटल प्रालि, जनकपुर मोडर्न हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, माँ गायत्री मेमोरियल हस्पिटल प्रालि, म्याक्स हस्पिटल एन्ड रिसर्च सेन्टर प्रालि, स्वस्तिका हेल्थकेयर अस्पताल प्रालि, लाइफ केयर एन्ड रिसर्च सेन्टर प्रालि र ओम दीर्घायु हस्पिटल प्रालिमा छड्के अनुगमन गरेका हुन् ।

कानुन अनुसार संघ, प्रदेश र स्थानीय सरकारबाट स्वीकृति नलिइकनै सञ्चालन भइरहेको अस्पताल तत्काल बन्द गर्न मुख्यमन्त्रीले निर्देशन समेत दिएका छन् ।

जनशक्ति, भौतिक पूर्वाधार, उपकरण, सरसफाइ लगायतका मापदण्ड पुरा नगरी जनकपुरधाममा बग्रेल्ती खोलिएका निजी अस्पतालहरूलाई भोलिसम्म आफैले ताल्चा लगाउन अस्पताल सञ्चालकहरूलाई निर्देशन दिइएको छ ।

मुख्यमन्त्री सिंहले अनाधिकृत तवरले खेलिएका ती अस्पताल र स्वीकृतिप्राप्त गरे पनि मापदण्डसम्बन्धी शर्त पुरा गरेको अवस्थामा नदेखिएका अस्पताललाई अस्पताल सञ्चालनसँग सम्बन्धित सबै कागजपत्र लिएर भोलिसम्म सरकारको सम्पर्कमा आउन सञ्चालकहरूलाई निर्दशन दिएका हुन् ।

उनले स्वीकृतिप्राप्त तर नवीकरण नभएका, स्वीकृति प्रक्रियामा रहेका र स्वीकृतिबिनै सञ्चालनमा रहेका अस्पताललाई वैधता प्राप्त गरेर मात्र सेवा सञ्चालन गर्न चेतावनीसमेत दिएका छन् ।

‘स्वीकृति नलिई मनपरी अस्पताल सञ्चालन गर्न पाइँदैन । स्वीकृति लिनुस्, चलाउनुस् । होइन भने बन्द गर्नुस्’ अनुगमनक्रममा उनले अस्पताल सञ्चालकहरूलाई भने ‘दर्ता छैन भने
आइतबारसम्म अस्पतालका बिरामी अन्य स्वाथ्य उपचार सेवामा सारेर आफैले बन्द गर्नुस् । अन्यथा हामी सरकारी टोेली परिचालन गरेरै बन्द गराउनेछौं ।’

मुख्यमन्त्री सिँहले अवैध अस्पताल सञ्चालन गर्ने सञ्चालकसँगै कार्यरत कर्मचारीसमेतलाई कारबाही गरिने बताए ।

मुख्यमन्त्री सिँहले निजी अस्पतालका लागि लिइएको स्वीकृति कागजातलगायत दस्ताबेज, मापदण्डअनुसार जनशक्तिको सँख्यात्मक उपलब्धता र खटनपटन, स्वास्थ्य उपकरण, सेवाको उपलब्धता र गुणस्तर र भौैतिक संरचनाबारे जानकारी लिएका थिए ।

मुख्यमन्त्रीको अनुगमन टोलीमा प्रदेश सरकारका प्रमुख सचिव मदन भुजेल, स्वास्थ्य तथा जनसँख्या मन्त्रालयका निमित्त सचिव राजेशकुमार मिश्र र सोही मन्त्रालयका जनस्वास्थ्य अधिकृत एवम् अस्पताल अनुगमन समितिका सदस्यसचिव सन्तोषकुमार ठाकुरलगायत सहभागी थिए ।

जनकपुरको बिनादर्ता सञ्चालित मुस्कान अस्पतालमा माघ ३ गते सर्लाहीको हरिपुर्वाकी २५ वर्षीया वविताकुमारी यादवको पित्त थैलीको शल्यक्रिया गरेपछि हालसम्म होस नआएको समाचारसार्वजनिक भएपछि अवैध अस्पतालहरुप्रति मुख्यमन्त्री सिंहको ध्यानाकर्षण भएको हो ।

प्रतिक्रिया





Top