घटना भएपछि अनिताका श्रीमान् राजकिशोर यादव पुनः साउदी फर्किएका थि
जनकपुरधाम । धनुषा प्रहरीले एक युवकको हत्या आरोपमा एक महिलालाई पक्राउ गरेको छ । धनुषाको कमला नगरपालिका ६ सिग्याही मडान निवासी ३३ वर्षीय शहिद अन्सारीको हत्या प्रकरणमा मिथिला बिहारी नगरपालिका–६ सिरसिया टोल बस्ने २४ वर्षीया अनिता कुमारी यादव संलग्न रहेको पुष्टि भएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
मृतक अन्सारीकी श्रीमती अजिमा खातुनको जाहेरीपछि धनुषा प्रहरीले अनुसन्धान अगाडि बढाउँदै यादवलाई उनको घरबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाले बिहीबार पत्रकार सम्मेलन गरी घटनाबारे विस्तृत जानकारी दिएको छ ।
गत पुस ४ गते मिथिला बिहारी नगरपालिका–२ पुरनदाहा टोलस्थित जनकपुर–धनुषाधाम सडकखण्डको खैरा खोलाको पुलमुनि अन्सारीको शव फेला परेको थियो । उनको निधार तथा घाँटी रेटिएको अवस्थामा बोराभित्र बाँधिएको शव देखिएको थियो । प्रारम्भिक अनुसन्धानमा अन्सारीको मृत्यु रहस्यमय देखिएपछि प्रहरी थप अनुसन्धानमा जुटेको थियो ।
प्रहरी अनुसन्धानमा मृतक अन्सारी र अनिता यादवबीच करिब दुई वर्षदेखि प्रेम सम्बन्ध रहेको खुलेको छ । मृतक अन्सारी कतारमा बस्दै आएका थिए । उनले बेलाबेला अनितालाई आर्थिक सहयोग समेत गर्दै आएका थिए । यही सम्बन्धकै कारण अन्ततः अन्सारीको हत्या भएको अनुसन्धानबाट खुलेको छ ।
अनिताको श्रीमान् राजकिशोर यादव साउदीमा कार्यरत थिए । उनले मंसिर १५ गते नेपाल फर्किएपछि पत्नी अनितासँग मिलेर अन्सारीको हत्या योजना बुनेका थिए ।
अनिताले अन्सारीलाई झुक्याएर नेपाल बोलाएकी थिइन् । उनले अन्सारीलाई आफ्नी श्रीमती गम्भीर बिरामी रहेको बहाना बनाएर नेपाल आउन आग्रह गरिन् । अन्सारी मंसिर २६ गते नेपाल फर्किएका थिए । मंसिर २७ गते अनिताले उनलाई आफ्नै घरमा बोलाएर बन्धक बनाइन् । त्यसपछि, श्रीमान–श्रीमती मिलेर बञ्चरो प्रहार गरी अन्सारीको हत्या गरेका थिए ।
घटना भएपछि अनिताका श्रीमान् राजकिशोर यादव पुनः साउदी फर्किएका थिए । प्रहरीले अनितालाई पक्राउ गरिसकेको छ भने राजकिशोरलाई नेपाल ल्याउन आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।
प्रहरीले घटनाको थप अनुसन्धान जारी राखेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।








प्रतिक्रिया