उत्पीडित समुदायको अधिकार स्थापित गर्न सदैव लागिपरेका छौँ ः अध्यक्ष दाहाल

न्यूज डेस्क     २०८१ फाल्गुन १८, आईतवार २३:०८ बजे मा प्रकासित


जनकपुरधाम, फागुन १८ गते । नेकपा माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसीलगायत उत्पीडित समुदायको अधिकार स्थापित गर्न आफ्नो पार्टी सदैव लागिपरेको बताएको छ ।

धनुषाको हँसपुर नगरपालिकाको सोनिगामा आईतवार आयोजित ‘जनतासँग माओवादी तराई–मधेस जागरण अभियान खबरदारीसभा’लाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष दाहालले मधेसी राष्ट्रिय मुक्ति मोर्चा गठन, सङ्घीयताको व्यवहारिक अभ्यास, समावेशी प्रतिनिधित्व र मधेसको विकासमा प्राथमिकता दिँदै आफ्नो पार्टीले महत्वपूर्ण भूमिका खेलेको स्पष्ट पारे ।

अध्यक्ष दहालले मधेसको माग पूरा गराउन पार्टी दृढतापूर्वक लाग्ने उल्लेख गरे । मधेसको विकासका लागि हुलाकी राजमार्गको निर्माण कार्य छिटो सम्पन्न गराउन माओवादी केन्द्रले दबाब दिने बताए । कमला पुलको शीघ्र निर्माणबारे स्थानीयले राख्दैआएको मागप्रति आफ्नो पार्टीको समर्थन रहेको उनले स्पष्ट पारे ।

माओवादी केन्द्रले जनताको भावना बुझ्न ‘घर–घर अभियान’ सञ्चालन गरिरहेको अध्यक्ष दाहालको भनाइ थियो ।

प्रतिक्रिया





Top