जनकपुरधाम । पर्साको कालिकामाई गाउँपालिका वडा नम्बर ४ कटिबलुवास्थित नेपाल राष्ट्रिय माध्यमिक विद्यालय दुई दिनका लागि बन्द गरिएको छ । सोमबार विद्यालयमा अध्ययनरत १८ विद्यार्थी अचानक बेहोस भएपछि मंगलबार र बुधबारका लागि विद्यालय बन्द गरिएको हो ।
बेहोस् भएका १७ विद्यार्थी उपचारपछि घर फर्केका छन् भने एक जना अझै उपचाररत छन् । कालिकामाईका अध्यक्ष बशिष्ट कुमारका अनुसार एक विद्यार्थीको अवस्था अलि बढी बिग्रेपछि वीरगंज लग्नुपरेको छ । बाँकी विद्यार्थीहरु पोखरीस्थित अस्पतालमा उपचारपछि घर फर्किसकेका छन् ।
एकपछि अर्को विद्यार्थी अचानक बेहोस भएर लड्न थालेपछि विद्यालयमा भागाभाग मच्चिएको थियो । अध्यक्ष बशिष्टले भने–‘विद्यालय आएलगत्तै पहिले एक छात्रा बेहोस भएकी थिइन् । एक घण्टापछि एकपछि अर्को गर्दै १८ विद्यार्थी बेहोस भए ।’
बेहोस भएका सबै विद्यार्थीलाई एम्बुलेन्समा पोखरी लगेर उपचार गराएको अध्यक्ष बशिष्टले बताए । विद्यार्थीहरु किन बेहोस भएको कुरा खुल्न सकेको छैन् । कतिपयले भूतप्रेतको प्रकोपले विद्यार्थीलाई बेहोस पारेको बताउँछन् ।
बेहोस हुने समस्याले विद्यालयमा अध्ययनरत विद्यार्थीहरु त्रसित बनेका छन् । विद्यालयको पठन–पाठन सोमवार ठप्प रह्यो । गाउँपालिकाले थप दुई दिन विद्यालय बन्द गर्न निर्देशन दिएको छ ।








प्रतिक्रिया