सिरहा : परीक्षा केन्द्र निर्धारणमा प्रमुखले आर्थिक बार्गेनिङको खुलासा

न्यूज डेस्क     २०८१ फाल्गुन २३, शुक्रबार ०७:१४ बजे मा प्रकासित


  • फाइल फोटो 

सिरहा । आगामी चैत्र ७ गतेबाट सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८१ का लागि सिरहामा आर्थिक लेनदेनको आधारमा परीक्षा केन्द्र निर्धारण गरिएको खुलासा भएको छ। शिक्षा विकास तथा समन्वय इकाईका परीक्षा शाखा प्रमुख विशाल कोनि र निजी विद्यालयका संस्थापकबीच आर्थिक बार्गेनिङ भएको खुलासा भएको छ ।

अडियोमा इकाईका परीक्षा शाखा प्रमुख कोनिले, परीक्षा केन्द्र विद्यालयकै अनुरूप तोकिने आश्वासन दिइरहेको स्पष्ट सुनिन्छ। एक निजी विद्यालयका संस्थापक र इकाईका परीक्षा शाखा प्रमुख बीचको फोन वार्ताले परीक्षा केन्द्र निर्धारणमा आर्थिक चलखेल भएको देखाउँछ ।

अडियोमा प्रमुख कोनिले“अरू कुरा भेटेरै गरौंला, तपाईंको लेखासँग कुरा भइसकेको छ। तपाईंले चाहेकै ठाउँमा केन्द्र पर्छ, तपाईं ढुक्क हुनुहोस्।” भनेर आश्वासन दिएको सुन्न सकिन्छ।

स्रोतका अनुसार शिक्षा इकाई र केही निजी विद्यालयबीच लाखौँ रुपैयाँको आर्थिक चलखेलमा परीक्षा केन्द्र तोक्ने प्रक्रिया अघि बढाइएको छ। कतिपय विद्यालयहरूले आफ्ना विद्यार्थीको सुविधाका नाममा शिक्षा इकाईका अधिकारीलाई आर्थिक प्रलोभन दिने गरेको दाबी गरिएको छ। एक प्रतिष्ठित विद्यालयका संस्थापकका अनुसार परीक्षा केन्द्र तोक्न ५० हजारदेखि २ लाख रुपैयाँसम्म बुझाउनुपर्ने चलन छ ।

तर, जिल्ला शिक्षा विकास तथा समन्वय इकाई सिरहाका प्रमुख दीपक कलौनीले भने आर्थिक बार्गेनिङको आरोपलाई अस्वीकार गरेका छन्। उनले भने,निजी विद्यालयका संस्थापकहरूले मनपर्ने केन्द्र नपाउँदा आरोप लगाउने गरेको प्रतिक्रिया दिएका छन्।

यस वर्ष सिरहाबाट १० हजार ७०३ विद्यार्थी एसईई परीक्षामा सहभागी हुँदैछन्। परीक्षा व्यवस्थित र मर्यादित बनाउन ४९ वटा परीक्षा केन्द्र निर्धारण गरिएको छ, जुन गत वर्षको तुलनामा ६ वटा बढी हो ।मधेश टाइम्स

प्रतिक्रिया





Top