बिरेन्द्र प्रसाद नेपाल,लहान २३ गते फागुन । सिरहा जिल्लाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरमा एक १७ वर्षीया किशोरी आफ्नै कोठामा झुन्डिएको अवस्थामा मृत फेला परेकी घटनाको छनबिनको प्रारम्भिक अनुसन्धानपछि आत्महत्या दुरुत्साहन र सामूहिक बलात्कार तथा हत्या आरोपमा हालसम्म ८ जना पक्राउ परेका छन् ।
घटनाको विवरण:
मिति २०८१/१०/३० गते बेलुका १९:०० बजे बिजुल सदायकी छोरी आफ्नै कोठामा बाँसको बलिमा झुण्डिएको अवस्थामा फेला परेकी थिइन्। राति २०:२५ बजे घटनाबारे प्रहरीलाई खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय महेशबारी सिरहाका प्रमुख प्र.व.ना.नि. बाबुराम काकीको नेतृत्वमा टोली घटनास्थलमा पुगेको थियो। त्यसपछि इलाका प्रहरी कार्यालय लहानबाट प्र.नि. शिव कटेलको नेतृत्वमा SOCO टोली खटिएर मुचुल्का उठाइएको थियो। घटनास्थलमा मृतककी आमा सीता देवी, ठूलो बुवा राम सेवक सदाय, वडा नम्बर १ का वडाध्यक्ष नविन कुमार यादव लगायतका स्थानीयवासी उपस्थित थिए। प्रारम्भिक चरणमा कसैले पनि झुन्डिएर मृत्यु भएकोबाहेक अन्य जानकारी प्रहरीलाई दिएका थिएनन् ।
पञ्चायतीको रहस्य:
घटनाको दुई दिनअघि, मिति २०८१/१०/२७ गते साँझ मृतक किशोरी घरबाट निस्केकी थिइन् र २८ गते राति ३ बजे मात्र फर्किएकी थिइन्। यो घटनापछि आमा सीता देवीले आफन्तहरूसँग सल्लाह गरी २९ गते पञ्चायती बसाउन खबर गरिन् ।
मिति २०८१/१०/२९ गते बिहान १०–११ बजे स्थानीयस्तरमा पञ्चायती बसेको थियो। पञ्चायतमा सांकेतिक नाम ०८१ लहान (ण) को परिवारले मृतकको परिवारलाई १,५१,००० रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने निर्णय भएको थियो। पछि यो रकम घटाएर १,४०,००० रुपैयाँमा सहमति भएको बुझिएको छ ।
अनुसन्धानको क्रममा नयाँ मोड:
सुरुमा आत्महत्या ठानिएको घटनाबारे मृतककी आमा सीता देवीले २०८१/११/०८ गते ८ जनाविरुद्ध अपहरण, सामूहिक बलात्कार र हत्या गरेको तथा पञ्चायती मिलापत्र गर्न खोजेको आरोपसहित पूरक जाहेरी दिएकी थिइन्।
यसपछि प्रहरीले छानबिन तीव्र बनाएको थियो। हालसम्म पक्राउ परेका ८ जना मध्ये प्रमुख आरोपी सांकेतिक नाम ०८१ लहान (ण) लाई मिति २०८१/११/२१ गते पक्राउ गरिएको छ। वडा सदस्य नथुनी साह, राम कृपाल मण्डल, बिन्देश्वर साह, राजेन्द्र मण्डल समेत पक्राउ परिसकेका छन् ।
फरार अन्य अभियुक्तहरूको खोजी जारी
घटनाको अनुसन्धानमा मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरबाट प्रहरी वरिष्ठ उपरीक्षक शान्तिराज कोइरालाको टोली समेत संलग्न छ। हालसम्म ८ जना पक्राउ परिसकेका छन् भने अन्य फरार रहेका अभियुक्तहरूको खोजी जारी छ।
पोस्टमार्टम र कानुनी प्रक्रिया:
मृतकको शव परीक्षणका लागि वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, सुनसरी पठाइएको थियो। अनुसन्धान जारी रहँदा मुलुकी अपराध संहिता, २०७४ को दफा २२७ क अन्तर्गत मिलापत्र गर्न वा गराउन नहुने कानुनी आधारमा म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ ।
यस घटनाले न्यायिक छानबिनको माग गर्दै स्थानीयस्तरमा आक्रोश बढेको छ भने प्रहरी प्रशासन दोषी पत्ता लगाउन थप अनुसन्धानमा जुटिरहेको छ ।








प्रतिक्रिया