‘राजागञ्ज’ फिल्मको जनकपुर प्रिमियर शाे यस्तो देखियो (तस्वीर)

न्यूज डेस्क     २०८१ फाल्गुन २६, सोमबार ०७:५९ बजे मा प्रकासित


जनकपुरधाम । दीपक रौनियार निर्देशित फिल्म ‘राजागञ्ज’लाई शनिबार जनकपुरमा रेडकार्पेट प्रिमियर गरिएको छ । त्यहाँस्थित ६ सय दर्शक क्षमताको गिरिजा हलमा प्रिमियर समारोह गरियो ।

जनकपुर उपमहानगरपालिका प्रमुख मनोजकुमार साह, एसपी भूवनेश्वर तिवारी, चलचित्र विकास बोर्ड मधेश प्रदेशका कार्यवाहक अध्यक्ष अशोक दत्त, मानव अधिकारकर्मी, अभियन्ता र फिल्मका कलाकार प्रिमियरमा सहभागि थिए ।

निर्देशक रौनियारसहित अभिनेत्री आशा मगराती, आरती मण्डल, सुरज यादव, रिंकु गायत्री मिश्रा, परमेश्वर झा, मदन ठाकुर, सरोज मिश्र, घनश्याम मिश्रलगायत उपस्थित थिए ।

 

सहभागिले फिल्मको प्रशंसा गरे । ‘महिला इन्स्पेक्टर पूजाजस्तै आँटिलो, जोशिलो अनि हिम्मतिलो हुनुपर्छ, अहिलेका महिला कमजोर छैनन्’ नगरप्रमुख साहले भने । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा प्रिमियर समारोह गरिएको थियो ।

शीर्ष भूमिकामा मगरातीसहित निकिता चाण्डक, ऋचा शर्मा लगायतका ७ महिला कलाकारले अभिनय गरेका छन् । दयाहाङ राई, विजय बराल, पशुपति राई, गौमाया गुरुङ, पुष्पा यादव, आरती मण्डल, घनश्याम मिश्र, परमेश्वर कुमार झा, नीरज श्रेष्ठ लगायतको अभिनय छ ।

भेनिस फेस्टिभलमा प्रिमियर गरिएको फिल्म चैत १ गतेदेखि नेपालका हलमा रिलिज तयारीमा छ । सभासदका छोरासहित २ बच्चाको अपहरणपछि तिनलाई मुक्त गर्न प्रहरीले चालेको खोजी अप्रेसनको कथा फिल्मले भन्छ । शीर्ष भूमिका इन्सपेक्टर पूजाको रोलमा आशाले अभिनय गरेकी छन् ।


फिल्मलाई पुलिस थ्रीलर जनरामा राखिएको छ । निर्माणमा आदि फिल्मस्का तर्फबाट निर्देशक रौनियार र अभिनेत्री मगराती, बाँसुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मणिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।

प्रतिक्रिया





Top