जनकपुरधाम, फागुन २६ । जनकपुरधाममै घर भएका मधेश प्रदेशसभाका सदस्यहरुले समेत घरभाडा बापत मासिक रुपैयाँ बुझ्ने गरेका छन्। नेपाली कांग्रेसबाट धनुषा ३ (१) बाट निर्वाचित रामसरोज यादवको घरदेखि प्रदेशसभाको दुरी डेढ किलोमिटरभन्दा पनि कम छ। जनकपुरधाममै आफ्नो घर मात्र नभई आफ्नै घरमा बस्दै आएपनि उनले प्रदेशसभा सचिवालयबाट मासिक १५ हजार रुपैयाँ घर भाडा बापत बुझ्ने गरेका छन्।
नेकपा एमालेका संसदीय दलका उपनेता दीपेन्द्र ठाकुरले पनि घरभाडाबापत मासिक १५ हजार रुपैयाँ बुझ्ने गरेका छन् । धनुषा निर्वाचन क्षेत्र नं. ३(२) बाट निर्वाचित ठाकुरको घर जनकपुरधाम उपमहानगरमै रहेको छ र उनी पनि आफ्नै घरमा बस्दै आएका छन् तर घर भाडा बुझ्छन् ।
महोत्तरी निर्वाचन क्षेत्र नं. २(२) बाट निर्वाचित जनता समाजवादी पार्टी (जसपा), नेपालकी सांसद सुरिता साहको पनि जनकपुरधामको भ्रमरपुरा चोकमा आफ्नै घर छ। जनकपुरधाममै घर भएपनि उनी समेत मासिक घर भाडा बापत १५ हजार रुपैयाँ बुझ्ने गरेकी छन् ।
नेपाली कांग्रेसका समानुपातिक सांसद अंजना पण्डितले समेत घर भाडा बापत मासिक प्रदेशसभाबाट १५ हजार रुपैयाँ बुझ्ने गरेकी छन्। उनको घरसमेत जनकपुरधाममै छ। यति मात्र नभई उनले आफ्नो घर नेपाली कांग्रेस मधेश प्रदेश समितिलाई समेत भाडामा दिएकी छन् ।
नेकपा एकीकृत समाजवादी पार्टीका समानुपातिक सांसद एवं प्रदेश मामिला समितिका सभापति रत्नेश्वर गोइत यादवको घर पनि जनकपुरधाम उपमहानगरपालिकामै रहेको छ। जनकपुरधाममै घर भए पनि उनले घर भाडा बापत मासिक १८ हजार रुपैयाँ बुझ्ने गरेका छन् ।
नेपाली कांग्रेसका प्रमुख सचेतक कुमारकान्त झा आफ्नै घरबाट प्रदेशसभा आउने गरेका छन् । धनुषाको लक्ष्मिनीयाँ घर रहेका उनले घरभाडाबापत मासिक प्रदेशसभाबाट १८ हजार रुपैयाँ बुझ्ने गरेका छन्।
उनीहरु जस्तै मधेश प्रदेशका अधिकांश सांसद घरबाटै प्रदेशसभा ओहोरदोहोर गर्ने गरेका छन्। घरबाटै प्रदेशसभा आएपनि उनीहरुले घर भाडा बापतको सेवा सुविधा लिने गरेका छन् ।
प्रदेशसभाका पदाधिकारी तथा सदस्यहरुको पारिश्रमिक र सुविधा सम्बन्धी ऐनको अनुसूचीमा सभामुखलाई आवास उपलब्ध गराउने, उपसभामुख, विपक्षी दलको नेता, सत्तापक्षको सचेतकलाई आवास बापत मासिक २० हजार, दलको नेता, सत्ता पक्षको प्रमुख सचेतक, विपक्षी दलको प्रमुख सचेतक र सभापतिलाई १८ हजार, दलका प्रमुख सचेतक र सचेतकलाई १६ हजार र सदस्यलाई १५ हजार रुपैयाँ दिने व्यवस्था गरेको छ। मधेश प्रदेशसभा सचिवालयले उपसभामुखलाई समेत आवाश नै उपलब्ध गराएको छ।
मधेश प्रदेशसभा सचिवालयले जनकपुरधामसहित धनुषा र बाँकी ७ जिल्लाका रहेका ९२ जना सांसदलाई घर भाडा बापत ऐन अनुसार मासिक रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।
१०७ सदस्यीय प्रदेशसभामा एकजना सांसद निलम्बनमा रहेका छन् भने मुख्यमन्त्रीसहित १२ जना मन्त्रीका लागि मुख्यमन्त्री तथा मन्त्रीहरुको पारिश्रमिक तथा सुविधा सम्बन्धी ऐन, २०७५ अनुसार आवासको व्यवस्था गरिएको छ ।
राजनीतिक विश्लेषक रोशन जनकपुरीले अहिलेको वर्तमान सत्ता राजनीतिको चरित्र कमाउ भइसकेकाले यो अहिले जनताको हितमा जाने कुरा नरहेको बताए। ‘पदमा जानुको अर्थ छ कसरी कमाउने रु यो सबै सोँचेपछि जसरी पनि कमाईरहेका छन्’, उनले भने । विश्लेषक जनकपुरीले जनकपुरधाममै रहेर खर्च लिनु अनैतीक मात्र नभई गैरकानुनी रहेको बताए ।
यता, प्रदेशसभा सचिवालयका प्रवक्ता विपिन ठाकुरले कुनै पनि सांसदनले घरभाडा बापतको रकम लिन सकिने बताए। उनले भने, ‘जनकपुरका जुन सांसद छन् उनले पनि घर भाडामा लिन सक्छ ।’
प्रदेशसभा सचिवालयले मासिक रुपमा घरभाडाबापत सांसदहरुलाई १४ लाख ३९ हजार रुपैयाँ दिने गरेको छ। यसका अतिरिक्त निजी सचिवालय बन्दोबस्त बापत मासिक १ लाख ८७ हजार ८ सय, बिजुली र धारा बापत १ लाख ८५ हजार, सञ्चार बापत २ लाख ८२ हजार ४ सय रुपैयाँ सांसदहरुलाई दिने गरिएको छ ।-emadeshtoday.com
प्रतिक्रिया