जनकपुरधाम, चैत ४ । जनकपुरधाममा केही दिन यता लामखुट्टेको प्रकोप ह्वातै बढेको छ । रातको त कुरै छाडौ दिनमा पनि लामखुट्टे टोक्ने गरेको छ । विगत ४/५ बर्ष पछि लामखुट्टेको यस्तो प्रकोप देखिएको जनकपुरधामबासीहरु बताउँछन् ।
जनकपुरधामबासी भन्छन्–‘हामीलाई मात्रै लामखुट्टेले त टोक्दैन होला, मेयर साहवलाई पनि टोक्दोहोला तर, वहाँलाई कुनै मतलव नै छैन् ।’ जनकपुरधाममा जनप्रतिनिधि पनि छन् ? भनेर उनीहरुनै प्रतिप्रश्न गर्छन् ।
जनकपुरधाम उप–महानगरपालिकामा पहिला पनि लामखुट्टेको प्रकोप थियो तर, जतिवेला देखि भूमिगत नाला निर्माण गरियो त्यतिवेला देखि यहाँ लामखुट्टे देखिन समेत छाडेको थियो तर, केही महिना देखि यसको प्रकोप ह्वातै बढेपछि स्थानीयबासीले चिन्ता व्यक्त गरेका छन् ।
जनकपुरधाम–२ का विलट साह भन्छन्–‘सवैले लालकिशोरलाई गाली गरे तर, मनोज भन्दा लालकिशोर नै राम्रो थियो । विरोध भएपनि काम त गथ्र्यो तर, मनोज कुम्भकरणको निन्द्रा छ, कसले र कसरी उठाउने हामीलाई थाहा छैन् ।’
बिहानभन्दा साँझ र रातिको समयमा लामखुट्टेको टोकाइबाट जनजीवन प्रभावित हुने गरेको छ । प्रदेशका मुख्य सहर बजार, ग्रामीण भेगका सहर बजार, गाउँबस्तीमा लामखुट्टेको प्रकोप रहेको छ ।
प्रत्येक वर्ष लामखुट्टे नियन्त्रणको नाममा जनकपुरधाम उपमहानगरपालिकाले लाखौ रुपैयाँ खर्च गरिएको भएपनि अझै नियन्त्रण भएको छैन । दिनरात लामखुट्टेको टोकाइबाट जिल्लावासी आजित भएको स्थानीय बताउँछन् । अन्य स्थानको तुलनामा धनुषाको जनकपुरधाममा लामखुट्टेको प्रकोप बढेको छ ।
प्रत्येक मौसम जनकपुरधाममा लामखुट्टेको प्रकोप देखिन्छ । गर्मीमा बढी हुन्छ भने जाडोमा अलि कम हुन्छ । बजारमा पाउने विभिन्न सामग्री जस्तै मच्छर धूप, अगरबत्ती, झुललगायतको सहायताले यहाँ दिनचर्या काट्ने गरेको जनकपुरधाम–९ का सुरेन्द्र साह बताउँछन् ।
लामखुट्टेले सार्छ यस्ता रोग
लामखुट्टे पनि फरक–फरक किसिमका हुन्छन् । फरक प्रजातिका लामखुट्टेले फरक रोग सारिरहेका हुन्छन् । लामखुट्टेको टोकाइबाट मलेरिया, डेंगु, ज्वरो, जापानिज इन्सेफ्लाइटिस, हात्तीपाइले, कालाजारजस्ता सरुवा रोग सर्न सक्छ । लामखुट्टेले रोगी मानिसको शरीरबाट ल्याएको कीटाणु स्वस्थ मानिसमा सार्ने गर्छ । त्यसैले लामखुट्टेको टोकाइबाट बच्नुपर्ने हुन्छ ।
मलेरिया
एनाफिलिज नामक लामखुट्टेको टोकाइबाट मलेरिया रोग लाग्ने गर्छ । यसको प्रमुख कारण प्यारासाइट प्लाज्मोडियमलाई पनि मानिन्छ । टाउको दुख्नु, बान्ता, ज्वरो आउने, ज्यान दुख्नेजस्ता यसका लक्षण हुन् । समयमै उपचार नगरेमा मलेरियाकै कारण ज्यानसमेत जान सक्छ । पाँच वर्षमुनिका बालबालिका, गर्भवती महिला मानिस मलेरियाबाट बढी प्रभावित हुने गर्छन् ।
डेंगु
लामखुट्टेको टोकाइबाट लाग्ने रोगमध्ये डेंगु सबैभन्दा घातक हो । एडिज नामक पोथी लामखुट्टेको टोकाइबाट यो रोग सर्ने गर्छ । डेंगु भएमा ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने र शरीरका विभिन्न अंगबाट रगत बग्ने हुन्छ । डेंगु चार प्रकारका हुन्छन् । यदि डेंगु सुरुवाती चरणमा छ भने झोलिलो खानेकुरा खाएर आराम गर्नुपर्छ, आफैँ निको भएर जान्छ । तर, ज्वरो दोहोरिएको अवस्थामा डेंगुले जटिल समस्याहरू निम्त्याउँछ । चिकित्सकले डेंगुको परीक्षण गरेर बिरामीको अवस्था नियाल्दै उपचार गर्ने गर्छन् ।
जापानिज इन्सेफ्लाइटिस
जापानिज इन्सेफ्लाइटिसले सीधै दिमागमा असर गर्छ । नसा र स्पाइनल कर्डमा समेत असर पु¥याउने भएकाले यो रोगलाई निकै घातक रूपमा लिइन्छ । ज्वरो आउने, टाउको दुख्ने, आँखा रातो हुनेजस्ता लक्षण यो रोग लागेपछि देखिन्छन् । यसको समस्या देखिएपछि शरीरमा अक्सिजनको मात्रा कम हुने भएकाले सास फेर्न गाह्रो हुन्छ ।
लामखुट्टे बढ्नुको प्रमुख कारण
– धेरै गर्मी हुने ठाउँमा लामखुट्टे धेरै हुने भएकाले यी ठाउँमा रोगको संक्रमण पनि बढी हुन्छ । तर, विभिन्न कारणले पछिल्लो समयमा पहाडी क्षेत्रमा पनि लामखुट्टे फैलन थालेको छ । त्यसैले यसको जोखिम सबैतिर बढ्न थालेको छ ।
– खोला किनार, दूषित पानी भएका स्थान, सहरी क्षेत्र तथा बाक्लो बस्ती भएका ठाउँमा लामखुट्टे चाँडै फैलिन्छ । त्यस्तै, घरको गमलामा पनि लामखुट्टेले फुल पार्न सक्छ । त्यस्तै, पानी जम्ने खालको टायरमा पनि यसले फुल पार्छ । यस्ता क्षेत्रमा सरुवा रोगको महामारीसमेत चाँडै फैलने जोखिम हुन्छ । खासगरी, सरसफाइको अभाव, स्वास्थ्य चेतनाको कमीका कारण लामखुट्टे बढ्छ ।
कसरी बच्ने ?
– सरुवा रोगबाट जोगिन लामखुट्टेको टोकाइबाट बच्न आवश्यक छ । त्यसैले घरमा फुल रोप्ने गमलामा पानी जम्न दिनुहुँदैन ।
– सामुदायिक तवरले नै यसको नियन्त्रण गर्नुपर्छ । पानी जमेको ठाउँमा लामखुट्टेले बढी प्रजनन गर्ने भएकाले खाल्डाखुल्डी पुर्नुपर्छ । ढल र पानी जम्ने ठाउँ हप्तैपिच्छे सफा गर्नुपर्छ । पानीलाई जम्न नदिई बग्ने बनाउनुपर्छ । यसले लामखुट्टेको प्रजननमा बाधा पु¥याउँछ र नियन्त्रण गर्न सजिलो हुन्छ ।
– राति सुत्दा अनिवार्य रूपमा झुल प्रयोग गर्नुपर्छ ।
– घरका झ्याल–ढोकामा लामखुट्टे छिर्न नसक्ने जालीको अनिवार्य प्रयोग गर्नुपर्छ ।
– लामखुट्टेको टोकाइबाट बच्न एक किसिमको लोसन पाइन्छ । सुत्ने वेलामा जिउमा लोसन लगाउने र बिहान नुहाउने गर्नुपर्छ ।
– तराई तथा अत्यधिक गर्मी हुने ठाउँमा फुल बाहुला भएको कपडा लगाउनुपर्छ । कतिपयले गर्मी भयो भनेर हाफ बाहुला भएको कपडा लगाउने गर्छन् । तर, लामखुट्टेको टोकाइबाट बच्न अनिवार्य फुल बाहुला लगाएर हिँड्ने गर्नुपर्छ । प्रदूषित ठाउँमा तथा झाडीमा जाँदा पनि यस्तो कपडा लगाउनु आवश्यक हुन्छ ।
– लामखुट्टे मार्न टोल–टोलमा विषादी छकर्ने गर्न सकिन्छ । तर, यस्तो विषादी पानीको मुहानमा पर्ने गरी छर्कनुहुँदैन ।








प्रतिक्रिया