मधेशका मुख्यमन्त्री सिंहले जनकपुरधाममा तीनवटा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिने

न्यूज डेस्क     २०८१ चैत्र २१, बिहीबार १५:४९ बजे मा प्रकासित


जनकपुरधाम । मधेश प्रदेश सरकारले जनकपुरधामको सौन्दर्यीकरण र पर्यटन प्रवद्र्धनलाई ध्यानमा राख्दै शौचालय निर्माणलाई विशेष प्राथमिकतामा राख्ने निर्णय गरेको छ । यस योजनाअन्तर्गत जनकपुरधामका प्रमुख पर्यटकीय क्षेत्रहरूमा आधुनिक सुविधायुक्त सार्वजनिक शौचालयहरू निर्माण गर्ने घोषणा गरिएको हो ।

मुख्यमन्त्री सतिशकुमार सिंहले जनकपुरधाममा तीनवटा अत्याधुनिक सार्वजनिक शौचालय निर्माण गरिने जानकारी दिए । ती शौचालयहरू विशेषतः बस पार्क, राम मन्दिरको दक्षिणपट्टि र जानकी मन्दिरको दक्षिण कुनामा निर्माण गरिनेछन् ।

मुख्यमन्त्री सिंहले यस योजनाको उद्देश्यलाई स्पष्ट गर्दै भने, ‘जनकपुरधाम धार्मिक र सांस्कृतिक दृष्टिले महत्त्वपूर्ण केन्द्र हो । यहाँ आउने भक्तजन र पर्यटकहरूको सुविधाका लागि सफा र व्यवस्थित सार्वजनिक शौचालयको आवश्यकता छ । यही आवश्यकता मध्यनजर गर्दै हामीले यो योजना अघि बढाएका हौँ ।’

यो योजनाअन्तर्गत निर्माण कार्यका लागि टेन्डर प्रक्रिया सुरु भइसकेको छ । यस कार्यको संयोजन मधेश प्रदेश नीति आयोगका उपाध्यक्ष डा. सोहनप्रसाद साह, जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साह र अन्य सरोकारवाला निकायका प्राविधिक टोलीले गरेका छन् ।

मुख्यमन्त्री सिंहले परियोजना सफल बनाउन योगदान गर्ने सबैलाई धन्यवाद दिँदै भने, ‘यस योजनाले जनकपुरधामको विकास र सौन्दर्यीकरणलाई थप गति दिनेछ । यसले स्वच्छता तथा पर्यटन प्रवद्र्धनमा पनि महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ ।’

यो परियोजनाका लागि तयार गरिएका आर्किटेक्चरल डिजाइनहरू सार्वजनिक गरिएको छ । त्यसमा स्वच्छता, सहज पहुँच र वातावरणमैत्री संरचनाहरूलाई प्राथमिकता दिइएको छ । प्रदेश सरकारले आगामी वर्षहरूमा अन्य स्थानहरूमा पनि यस्ता शौचालयहरू निर्माण गर्ने योजना बनाइरहेको छ ।

यस योजनाले जनकपुरधामको पर्यटकीय आकर्षणमा वृद्धि गर्ने र यहाँ आउने पर्यटकहरूको अनुभवलाई अझ सहज र उत्कृष्ट बनाउने उद्देश्य राखेको छ ।

प्रतिक्रिया





Top