जनमतका नेतामाथि एकपछि अर्को कारबाहीको डन्डा, उपाध्यक्ष साहलाई निस्कासन गर्दै राउत

न्यूज डेस्क     २०८१ चैत्र २१, बिहीबार १७:१७ बजे मा प्रकासित


जनकपुरधाम । गएको निर्वाचनबाट मधेशमा नयाँ शक्तिको रुपमा उदाएको जनमत पार्टीका अध्यक्ष डा.चन्द्रकान्त राउत(सीके)ले आफ्नो आलोचना गर्नेमाथि कारबाहीको डन्डा बर्साउने गरेका छन् । अध्यक्ष राउतले प्रश्न गर्नेहरुलाई एकपछि अर्को गरी पार्टीबाट निस्कासन गर्ने क्रम रोकिन सकेको छैन । राउतलाई खुसी बनाउन नसक्ने नेताहरु पार्टीमा टिक्नसक्ने अवस्था नरहेको जनमतकै नेताहरु बताउँछन् । उनलाई खुसी पार्न नसक्नेहरुलाई पार्टीबाट हटाउनेदेखि स्पष्टीकरण सोध्ने गरिएको छ । जसको सूची लामो रहेको ती नेता बताउँछन् ।

राउतले पार्टीका उपाध्यक्ष तथा अनुशासन समितिका संयोजक दीपक साहलाई निलम्बन गरेका छन् । ६ महिनाअघि नै उनले साहलाई निलम्बन गरी तीन पटक स्पष्टीकरण मागिसकेका छन् । स्पष्टीकरण चित्त नबुझेको भन्दै उनलाई पार्टीबाट निस्कासन गरी अध्यक्ष राउतले आफ्नै दाजु डा. जयकान्त राउतलाई उपाध्यक्ष र अनुशासन समितिको संयोजक बनाउने तयारी गरेका छन् । साहलाई राउतको परिवारलाई उचाल्ने काम गरेको आरोप लगाउँदै पार्टीबाट निस्कासन गरिएको बताइएको छ । साह अनुशासन समितिका समेत संयोजक हुन् ।

राउतले कोषाध्यक्ष सुरेन्द्रनारायण यादवलाई स्पष्टीकरण माग गर्दै निलम्बन समेत गरेका थिए । राउतलाई खुसी पार्न नसक्ने केन्द्रीय नेताहरु कैलाश महतो, डा.रवीन्द्र यादव, जासर यादवहरु पनि निलम्बनमा परेका छन् ।

संसदको उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका अध्यक्ष अब्दुल खानलाई समेत स्पष्टीकरण सोधिएको थियो । पार्टीका समेत उपाध्यक्ष रहेका खानलाई सोधिएको स्पष्टीकरण सार्वजनिक भने गरिएको थिएन ।

जनमत पार्टी फुटाउन लागेको शंका गर्दै खानलाई स्पष्टीकरण सोधिएको थियो । खानले समितिमा स्वकीय सचिवदेखि सवारीचालक राख्ने क्रममा आफूसँग नसोधी २ जना राखेपछि राउत आक्रोशित भएका थिए । राउतले सिफारिस गरेकालाई मात्र कर्मचारीमा राख्नुपर्नेमा उनले नसोधी २ जना राख्दा उनी शंकाको घेरामा परेका थिए ।

राउतले जनमतका अन्य केन्द्रीय नेताहरु सचिव बीपी साह, अनिता साह, भूपेन्द्र यादव, शम्भु साहलाई समेत स्पष्टीकरण सोधेका थिए । यीमध्ये केहीलाई निलम्बन समेत गरेका थिए । कतिपयको निलम्बन उनको बिरोध नगर्ने सर्तमा फुकुवा भइसकेको छ ।

देश र मधेश बनाउँछु भनेर पार्टी खोलेका राउतले आफ्नै घरसमेत भताभुंग पारी श्रीमतीसँग सम्बन्ध बिच्छेदको मुद्दा ललितपुर जिल्ला अदालतमा दर्ता गरेपछि उनी थप आलोचित छन् । गएको भदौमा राउतले उनकी श्रीमती सोनी सिन्धु रानीसँग सम्बन्ध विच्छेदको मुद्दा हालेका थिए । राउतले गएको भदौ १२ मा श्रीमती सोनीसँग अंशसहित सम्बन्ध बिच्छेदको मुद्दा ललितपुर जिल्ला अदालतमा दायर गरेका थिए । जुन मुद्दामा श्रीमती सोनीलाई उचालेको आरोप साहमाथि लगाएर उनलाई पार्टीबाटै निस्कासन गरिएको छ । राउतले हालेको सम्बन्धबिच्छेदको मुद्दाको प्रतिउत्तरमा श्रीमती सोनीले भने उनको स्वास्थ्य जाँचको माग गरेकी थिइन् ।

जनमत पार्टीले सर्त अनुसार पार्टीलाई सहयोग नगर्ने सांसदलाई ‘राइट टु कल’ भन्दै फिर्ता गर्ने गरेको छ । गएको फागुन २७ गते सांसद गोमा लाभ सापकोटालाई पदबाट हटाउन संघीय संसद सचिवालयमा पत्राचार गरेको थियो । तर सभामुख देवराज घिमिरेले उनलाई हटाउने मनासिब कारण नदेखिएपछि अस्वीकार गरिदिएका थिए । भनेअनुुसार नबुझाएकाले उनलाई स्पष्टीकरण समेत नलिई हटाउन पत्राचार गरेको आरोप राउतमाथि लाग्ने गरेको छ । उनको नामको स्पष्टीकरण समेत नक्कली भएको सापकोटाले संसद सचिवालयमा बताएकी थिइन् । अर्का एक सांसदलाई पनि कारबाहीको तयारी गरेपछि उनले सर्त पालना गरेपछि पद जोगिएको थियो ।

जनमत पार्टीका महामन्त्री शरद यादवले उपाध्यक्ष दीपक साहको निलम्बन फुकुवा नभएको बताए । साहलाई निस्कासन गरी डा. जयकान्त राउतलाई उपाध्यक्ष बनाउन लागिएकोबारेमा उनले भने–‘यो गलत कुरा हो ।’

प्रतिक्रिया





Top