जंगलमा महिलाको शव गाडेको अवस्थामा भेटियो

न्यूज डेस्क     २०८१ चैत्र २२, शुक्रबार ०६:०९ बजे मा प्रकासित


रौतहट । रौतहटमा ५० वर्षीय महिलाको शव फेला परेको छ । वृन्दावन नगरपालिकाको वडा नम्बर–१ स्थित जंगलमा महिलाको शव फेला परेको रौतहट प्रहरीले पुष्टि गरेको छ ।

 

नगरपालिकाको विश्रामपुरस्थितको जंगलमा गाडेको अवस्थामा महिलाको शव फेला परेको गरुडा प्रहरी प्रमुख राजन कार्कीले बताए । फेला परेको शव वृन्दावन नगरपालिकाको वडा नम्बर–१ की फूलमतिया देवीको रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनी गएको १४ गते आफ्‌नो घरबाट बेपत्ता भएकी थिइन् ।

बेपत्ताको आठौँ दिनपछि आज उनको शव फेला परेको हो‍ । प्रहरीमा उजुरी आएपछि तालिमप्राप्त कुकुरको सहयोगमा खोजी गर्दा फूलमतियाको शव जंगलमा गाडेको अवस्थामा फेला परेको गरुडा प्रहरीका डीएसपी कार्कीले बताए । फेला परेको शव हत्या गरिएको हुन सक्ने विश्लेषण गर्दै प्रहरीले अनुसन्धान सुरु गरिसकेको उनले बताए ।

 

हत्यामा संलग्न रहेको आरोपमा अहिलेसम्म दुई जनालाई पक्राउसमेत गरिसकेको उनले जानकारी दिए । ‘बरामद महिलाको शव सनाखत भइसकेकोले कसले र किन हत्या गरेको हो ? त्यसबारे विस्तृत अनुसन्धान भइरहेको छ,’ रौतहट प्रहरी प्रवक्ता दीपककुमार रायले जनाए ।फाइल तस्बिर 

प्रतिक्रिया





Top