जनकपुरधाम । जनमत पार्टी नेतृत्व मधेश प्रदेश सरकारले पहिलोपटक ‘प्रदेश पत्रकार पुरस्कार’ स्थापना गर्ने भएको छ।
शुक्रबार प्रदेश प्रमुख सुमित्रा भण्डारीले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा उक्त पुरस्कारको घोषणा गरिएको हो।
प्रदेश पत्रकार पुरस्कारको स्थापनासँगै स्वतन्त्र र उत्तरदायी पत्रकारितालाई प्रोत्साहन गर्ने सरकारको उद्देश्य रहेको छ। नीति तथा कार्यक्रममा भनिएको छ, “स्वतन्त्र, निष्पक्ष र उत्तरदायी पत्रकारिता लोकतन्त्रको आधार स्तम्भ हो। त्यसैले पत्रकारिताको सम्मान र अभिवृद्धिका लागि ‘प्रदेश पत्रकार पुरस्कार’ स्थापना गरिनेछ।”
यस निर्णयबाट सञ्चारकर्मीको मनोबल बढ्ने र पत्रकारिता क्षेत्रप्रतिको आमविश्वास बलियो हुने अपेक्षा गरिएको छ। मधेश प्रदेशका सञ्चार क्षेत्रलाई अझ मजबुत बनाउन प्रदेश सरकारले पहिलोपटक यस प्रकारको पुरस्कारको घोषणा गर्नु स्वागतयोग्य पहलका रूपमा लिइएको छ।
मधेश प्रदेशमा सक्रिय रहेर निष्पक्ष पत्रकारिता गर्ने पत्रकारलाई पुरस्कार प्रदान गरिने र छनोट प्रक्रिया पारदर्शी हुने जानकारी नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ। पुरस्कारका लागि छनोट मापदण्ड, पुरस्कार राशि तथा वितरण प्रक्रिया आगामी दिनमा मन्त्रालयले कार्यविधिमार्फत सार्वजनिक गर्ने बताइएको छ।
प्रदेश सरकारको यो घोषणालाई सञ्चारकर्मी संघ–संस्थाले सकारात्मक रूपमा लिएका छन्। उनीहरूले अब पत्रकारिता पेसामा लाग्नेहरूको प्रेरणा बढ्ने विश्वास व्यक्त गरेका छन्।
सञ्चार जगतमा देखिएको चुनौतीपूर्ण परिवेशका बीच सरकारको यो कदमले जिम्मेवार पत्रकारितालाई संस्थागत गर्न टेवा पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया