धनुषा : रातको समयमा प्रहरीद्वारा छापामार शैलीमा एक घर घेराउ

न्यूज डेस्क     २०८२ जेष्ठ २६, सोमबार ०८:५९ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाको मुखियापटी मुसहरनीया गाउँपालिका वडा नं. ६ लक्ष्मीपुर टोलमा आइतबार राति करिब १ बजेको समयमा तीन दर्जनभन्दा बढी प्रहरीको टोलीले छापामार शैलीमा एक घरमा घेराउ गरी बलपूर्वक प्रवेश गरेको घटनाले स्थानीय बासिन्दाहरूमा त्रास फैलिएको छ । प्रहरीको उक्त कारबाहीमा महिलाहरूलाई दुव्र्यवहार, कुटपिट र घरमा रहेको सम्पत्तिमा तोडफोड गरिएको आरोप लागेको छ ।

घटनास्थलमा रहेका प्रत्यक्षदर्शी र पीडित पक्षको भनाइ अनुसार, भोगेन्द्र यादवको घरमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको टोलीले छतबाट प्रवेश गरी घरका चुकुलहरू फोड्दै घरभित्र छापा मारेको हो । एमालेका मुखियापटी मुसहरनीया नगर अध्यक्ष सुशील यादवले पत्रकार सम्मेलनमार्फत प्रहरीको यो कार्यलाई ‘रातको आतंकराज’ भनी टिप्पणी गरेका छन् ।

पीडित पक्षका सदस्य विकास यादवले घटनाको विवरण दिँदै भने, “राति सुतिरहेको अवस्थामा प्रहरी अचानक घरभित्र पस्यो। म झसङ्ग ब्युँझिएँ, त्यत्तिकैमा एक जनाले मेरो कानमै पेस्तोल तेर्साउँदै भन्यो — ’बढी बोल्छस् भने चुप लाग, नत्र मर्छस् ।’“
उनले थपे, “मैले किन यस्तो गरिरहनु भएको? तपाईहरूसँग कुनै कागजात छ कि? यो काम दिनको उज्यालोमा पनि गर्न सकिन्छ भनेपछि, मलाई धक्कामुक्की गर्दै कालर समातेर घरबाट बाहिर निकालियो ।”

घटनाको पृष्ठभूमिमा स्थानीय राजनीतिक द्वन्द्व रहेको आशंका गरिएको छ । सुशील यादवका अनुसार, उनको र जसपा नेपालका नेता विरेन्द्र छोटेबीच विगतमा सामान्य भनाभन भएको थियो । त्यही घटनालाई लिएर विरेन्द्र छोटे पक्षले दवावमा मुद्दा हालेर आफ्ना नातेदारहरूलाई फसाउने प्रयास गरिरहेको उनले दाबी गरे ।

”झगडा मिलाउन पुगेका काका उपेन्द्र यादवको टाउको उनिहरुले फोडेपछि उपचारको लागि जनकपुरधामको न्युरो अस्पतालसम्म लगियो । त्यसपछि हामीले प्रहरीमा उजुरी ग¥यौं । तर उल्टै विरेन्द्र छोटेले आफ्नो पहुँच प्रयोग गरी हामीमाथि अभद्र व्यवहारको मुद्दा हाल्नुका साथै रातको समयमा प्रहरी परिचालन गरी गाउँमा त्रास फैलाएका छन्,” अध्यक्ष यादवको आरोप थियो ।

फुलगामा प्रहरी चौकीका इन्चार्ज अवधलाल सोनारले भने घटनामा आफू संलग्न रहेको स्वीकार गर्दै जिल्लाबाट आएको टोलीले साथ दिन भनेपछि आफू पनि गएको बताए । “राती घर किन घेराउ गरियो भन्ने जानकारी जिल्लाबाट नै लिनुपर्छ,“ उनले भने ।

तर जिल्ला प्रहरी कार्यालय, धनुषाका प्रवक्ता डिएसपी वरुणबहादुर सिंहले भने घटनाबारे आफू अनभिज्ञ रहेको प्रतिक्रिया दिए । “म यसबारे जानकार छैन, यो कुरा प्रहरी उपरीक्षकसँग बुझ्नुपर्छ,” उनले संक्षिप्त प्रतिक्रिया दिए । प्रहरी उपरीक्षकलाई सम्पर्क गर्न प्रयास गर्दा समेत फोन व्यस्त रहेको जानकारी प्राप्त भएको छ।

रातको समयमा दर्जनौं सुरक्षाकर्मी घरमा पसेर महिलाहरूलाई अपमानजनक व्यवहार गर्दै बक्स, दराज, पलंग जाँच गरेको र कागजपत्र विना बल प्रयोग गरिएको घटनाले गाउँमा ठूलो असन्तोष र असुरक्षा फैलिएको छ । स्थानीय बासिन्दाहरूले यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्न माग गरेका छन् । यता घरमा रहेका महिलाहरुले घटनाको क्रममा आफनो मंगल सुत्र,पेटीबाट केहि थान गहना र दुइ लाख नगद हराएको समेत आरोप लगाएका छन् ।

यता एमाले धनुषाले घटनाको विरोध जनाउँदै नागरिकको मौलिक हक उल्लंघन भएको भन्दै कडा शब्दमा आलोचना गरेका छन् ।

प्रतिक्रिया





Top