जनकपुरधाम । देशको गौरवपूर्ण इतिहास बोकेको कोइलाबाट चल्ने छुकछुके रेल वर्षौंअगाडि बन्द भइसकेको छ । तर त्यस रेलसँग सम्बन्धित इन्जिन, डब्बा र मुख्य कारखानाको संरक्षण नहुनुका कारण अहिले ती सम्पत्ति खिया लागेर माटोमा बिलिन हुने अवस्थामा पुगेका छन् ।
धनुषा जिल्लाको जनकनन्दनी गाउँपालिका–४ स्थित खजुरीमा अवस्थित मुख्य रेल कारखाना अहिले खण्डहरमा परिणत भएको छ । यही ठाउँमा रहेको ऐतिहासिक इन्जिनहरू — जसमा सीता–राम, गोरखनाथ, पशुपति, महावीर, चन्द्र, गुहेश्वरीजस्ता नामहरू राखिएको थियो — ती सबै अहिले संरक्षण नपाएर कवार बन्दै गएका छन् ।
बि.सं. १९९४ सालमा तत्कालीन बेलायती शासकले महोत्तरीको जङ्गलबाट सालको काठ ओसार्नका लागि भारतको जयनगरदेखि महोत्तरीको बिजुलपुरासम्म ५२ किलोमिटर दूरीमा रेल सेवा सञ्चालनमा ल्याएका थिए । पछि यो सेवा सिमित हुँदै जनकपुरधाम–जयनगर मार्गमा मात्र सीमित रह्यो। तर अहिले न रेल छ, न त त्यसको साँचो इतिहास सुरक्षित छ ।
खजुरीको कारखाना स्थानीयहरूको केही पहलका कारण अझै पनि अस्तित्वमा रहेको छ । तर जनकपुरधाम र बिजुलपुरामा रहेका रेलका इन्जिन र डब्बाहरू एक–एक गर्दै गायब भइसकेका छन् । न त नेपाल रेल्वे कम्पनीले यसको जिम्मेवारी लिएको छ, न त सरकार आफैंले चासो देखाएको छ ।
स्थानीयवासीहरू भन्छन्, “यदि यी पुराना इन्जिन र संरचनालाई संरक्षण गरेर संग्राहलय बनाउने हो भने यहाँ आन्तरिक तथा बाह्य पर्यटकहरूको आकर्षण बढ्न सक्छ ।“ तर यस्ता योजनाहरूको चर्चा विगतमा पनि भए पनि, सरकारको ठोस पहल र इमानदारीको अभावले गर्दा बहुमूल्य सम्पत्ति विनाशतर्फ अघि बढिरहेको छ ।
इतिहास जोगाउने नाममा सरकारको उदासीनता प्रष्ट देखिन्छ। खजुरी, जनकपुरधाम र बिजुलपुरामा रहेका यस्ता सांस्कृतिक सम्पदाहरू संरक्षण गर्न सम्बन्धित निकाय र नेतृत्वले तत्काल ध्यान नदिए, नेपालले फेरि एक ऐतिहासिक चिन्ह गुमाउने निश्चितप्रायः देखिन्छ ।








प्रतिक्रिया