पत्रकारमाथि बारम्बार आक्रमण गर्ने मेयरलाई कहिले हुने कार्वाही

न्यूज डेस्क     २०८२ जेष्ठ ३१, शनिबार २०:०३ बजे मा प्रकासित


रौतहट । पटकपटक पत्रकारलाई कुटपिट गर्ने रौतहटको कटहरिया नगरपालिकाका नगर प्रमुख अजय प्रकाश जयसवालमाथि कारबाहीको माग भइरहेको छ ।

नेपाल पत्रकार महासंघ रौतहट शाखाले विज्ञप्ति निकालेर सम्मानित अदालतले नगर प्रमुख जयसवाललाई कानुनी दायरामा ल्याउन आदेश दिइसकेको भएपनि रौतहट प्रहरीले आवश्यक कदम नउठाएको भन्दै रौतहट प्रहरीमाथि प्रश्न उठाएको छ ।

विहीबार साँझ दुई जना पत्रकारमाथि नगर प्रमुख जयसवालले कुटपिट गरेपछि महासंघका रौतहट सचिव गौतम श्रेष्ठले अदालतको आदेश प्रहरीले नमानेको बताए ।

नगर प्रमुख अजय प्रकाशले कटहरियामा रहेको कटहरिया म्युजिकल एफएमका कर्मचारी रविन्द्र प्रजापति र सागर संगम ठाकुरलाई समाचारको विषयलाई लिएर कुटपिट गरेका थिए । कटहरियामा लामो समयदेखि खानेपानीको समस्या भएको र नगर प्रमुखले पानीको व्यापारीहरुसँग मिलेर खानेपानीको समस्या समाधान नगरेको स्थानीयले आरोप लगाउँदै आएका छन् । चर्को गर्मीमा खानेपानी समस्या समाधान गर्नुको साटो समाचार लेख्ने पत्रकारलाई आफ्नै संलग्नतामा कुटपिट गरेका हुन् ।

कटहरियाको सार्वजनिक ठाउँमा छलफल गर्न बोलाएर नगर प्रमुख आफैँले पत्रकार ठाकुरमाथि निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका हुन् । ठाकुरको गरुडामा उपचार हुन नसकेपछि थपउपचारको लागि वीरगंज पठाइएको छ ।

नगर प्रमुखले गतवर्ष पनि चिनी मिलको समाचार संकलन गर्न गएका दुई संचारकर्मीलाई निर्घात कुटपिट गरेका थिए । उक्त घटना सम्बन्धी मुद्दा अदालतमा विचाराधीन छ । अदालतले नगर प्रमुखलाई कानुनी कारबाहीको दायरामा ल्याउन आदेश दिइसकेको भएपनि प्रहरीमा पहुँचको भरमा कारबाही हुन सकेको छैन । फेरि दुई जना पत्रकार कुटेपछि रौतहट प्रहरीमाथि नै गम्भीर प्रश्न उठेको छ ।

महासंघले जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयसँग घटनाको छानबिन गरी दोषीमाथि तत्काल कानुनी कारबाही गर्न माग गरेको छ ।

यसैबीच नगर प्रमुख अजय प्रकाशले घटनामा आफू संलग्न नरहेको बताउँदै नहुनु घटना भइसकेपछि माफी मागेको भिडियो पनि जारी गरेका छन् ।

प्रतिक्रिया





Top