जनकपुरधाम । ‘गर्मी स बचु, एक घर एक वृक्ष रोपु’ नाराका साथ धनुषाको सबैला नगरपालिकामा वृक्षारोपण कार्यक्रम सुरु भएको छ । धनुषाको सबैला नगरपालिकाका मेयर प्रत्यासी एवं जनमत पार्टीका केन्द्रीय सचिव बीपी साहको प्रमुख आतिथ्यमा सुरु भएको वृक्षारोपण कार्यक्रम उक्त पालिका भित्र केही दिनसम्म चल्नेछ ।
मंगलबार सबैलाको वडा ९ को भठिहन बजारबाट वृक्षारोपण कार्यक्रमको सुरुवात गर्दै नेता साहले भने, ‘मधेशमा गर्मी बढ्दै गएको छ । गर्मीबाट जोगिने महत्वपूर्ण उपाय नै वृक्षारोपण हो । हामीले एक घर एक वृक्षलाई पहिलो प्राथमिकता दिएर गामघरमा पनि वृक्षारोपण गर्नुका साथै वृक्षालाई जोगाउनु तिर लाग्नु पर्छ । गामघरमा रहेको पोखरी र इनारहरुलाई पुर्नु हुँदैन । सफा गरेर पानी अडिने बनाउनु पर्छ ।’
नेता साहको पहलमा मधेश प्रदेश सरकारको वन तथा वातावरण मन्त्रालयको आर्थिक सहयोगमा सबैला नगरपालिकाको विभिन्न वडामा बृक्षारोपण हुँदैछ ।
मंगलबारको पहिलो दिनको कार्यक्रमको प्रमुख अतिथि बीपी साह थिए भने विशिष्ट अतिथि सबैला नगरपालिकाकी उपमेयर रहिमा खातुन, वडा ९ का वडा अध्यक्ष मनिष राय, जनमत पार्टीका केन्द्रीय सदस्य संजय प्रधान, जिल्ला सदस्य कैलास प्रसाद साहलगायतका विभिन्न व्यक्तित्वहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको अध्यक्षता स्थानीय नेता रामउदगार रायले गरेका थिए ।








प्रतिक्रिया