जनकपुरधाम । बिहारमा विधानसभा चुनावको माहोल चर्किँदै गर्दा सुरक्षा निकायहरू कडा सतर्कतामा रहेका छन् । गुप्तचर एजेन्सीले पाकिस्तानको प्रतिबन्धित आतंकी संगठन जैश–ए–मोहम्मदसँग आवद्ध तीन जना आतंकवादी नेपालमार्ग हुँदै बिहार प्रवेश गरेको सूचनापछि सम्पूर्ण राज्यभर उच्च सतर्कता जारी गरिएको हो ।
भारतीय मिडियाका अनुसार रावलपिण्डीका हसनैन अली, उमरकोटका आदिल हुसैन र बहावलपुर निवासी मोहम्मद उस्मान नेपालमार्ग हुँदै भारत प्रवेश गरेका हुन् । उनीहरू साउन दोस्रो सातातिर काठमाडौँ आइपुगेका थिए र गत हप्तामै सीमापार गरी बिहार पुगेको गुप्तचर एजेन्सीको दाबी छ ।
प्रहरी मुख्यालयले प्राप्त सूचनालाई अत्यन्त संवेदनशील मान्दै सीमावर्ती जिल्लामा विशेष सतर्कता अपनाएको छ । तीनै आतंकवादीको पासपोर्ट विवरण र अन्य जानकारी स्थानीय प्रशासन र सुरक्षा निकायसँग साझा गरिएको छ । सीमावर्ती क्षेत्रमा निगरानी कडाइ गरिएको र खोजतलास अभियानलाई तीव्रता दिइएको भारतीय प्रहरी स्रोतले जनाएको छ ।
गुप्तचर स्रोतका अनुसार यी आतंकवादीले कुनै ठूलो राजनीतिक सभा वा भिडभाड भएको क्षेत्रमा आक्रमण गर्ने योजना बनाउन सक्ने सम्भावना देखिएको छ । विधानसभा चुनाव नजिकिँदै गर्दा यस्तो गतिविधिले राज्यको सुरक्षा संवेदनशील हुने भएकाले सुरक्षा निकायलाई पूर्ण अलर्टमा राखिएको हो ।
प्रहरी मुख्यालयले सबै जिल्लाका प्रहरी प्रमुखलाई सतर्क रहन निर्देशन दिएको छ । शंकास्पद गतिविधि देखिए तत्काल रिपोर्ट गर्न, निरन्तर सूचना संकलन गर्न र आवश्यक कदम चाल्न भनिएको छ । बिहार प्रहरी अहिले पूर्ण अलर्ट मोडमा छ भने नेपालसँग जोडिएका क्षेत्रमा थप सुरक्षा बल परिचालन गरिएको छ ।
सुरक्षा अधिकारीहरूले बिहारमा कुनै पनि आतंकी गतिविधि हुन नदिन सुरक्षात्मक उपायलाई प्राथमिकता दिइरहेको बताएका छन् । चुनावी माहोलमा जनसभामा ठूलो भिड हुने भएकाले प्रहरी र गुप्तचर संयन्त्रले विशेष तयारी गरेको छ ।








प्रतिक्रिया