महोत्तरी । महोत्तरी जिल्लामा भारत–नेपाल सीमानामा शान्ति–सुरक्षा कायम गर्न तथा अवैध कारोबार नियन्त्रण गर्ने उद्देश्यले केही महिना अघि स्थापना गरिएको अस्थायी प्रहरी चौकी पर्सा अहिले विवादमा परेको छ।
चौकी स्थापना भएसँगै सीमा क्षेत्रमा अवैध सामान आवतजावत, तस्करी र सुरक्षासम्बन्धी चुनौती नियन्त्रण हुने अपेक्षा गरिएको थियो। तर स्थानीयबासी, किसान तथा साना व्यापारीहरूले भने चौकीका प्रहरीहरूकै गतिविधिका कारण सुरक्षाभन्दा बढी समस्या बढेको गुनासो गरेका छन्।
साना व्यवसायी र सर्वसाधारणलाई त्रास, ठूलो तस्करलाई छुट
स्थानीयवासीहरूका अनुसार पर्सा प्रहरी चौकीका केही सुरक्षाकर्मीहरूले बाटोमै बसेर बस, टेम्पु, मोटरसाइकल, साइकल लगायत सवारी साधनहरू रोक्ने, सामान्य व्यवसायी तथा उपभोक्तासँग पैसा असुल्ने, अनावश्यक झन्झट सिर्जना गर्ने जस्ता गतिविधि बढाएका छन्।
सर्वसाधारणका अनुसार:
“साना व्यापारीको सामान खोल्छन्, कागजपत्र झिक्छन्, नजिकैका तरकारी–फलफूल बेच्नेहरूसँग पनि पैसा माग्छन्।”
“सामान्य नागरिकलाई त पीडा, तर ठूलो तस्कर र ठूला व्यापारीलाई केही गर्दैनन्,” उनीहरूको आरोप।
स्थानीयहरूले दाबी गरेका छन् कि भारतबाट लाखौँ मूल्यका समान तस्करी हुँदै आयिरहेका छन्, तर ती “सुरक्षित रूपमा पार गरिन्छ”, जबकि साना व्यापारीलाई दिनदिनै समस्या झेल्नुपरेको छ।
गाई तस्करी अझै नियन्त्रण हुन सकेन
सीमाक्षेत्रमा गाई–बस्तु तस्करी वर्षौंदेखि चुनौतीको विषय बनेको छ। तर पर्सास्थित चौकी स्थापना भए पनि गाई तस्करी रोकथाममा कुनै प्रभावकारी सफलता नदेखिएको स्थानीयको टिप्पणी छ।
एक व्यवसायीका अनुसार:
“नेपालका विभिन्न स्थानबाट गाईहरू पर्सासम्म आउँछन्, कसैले रोक्दैन। तर पर्साबाट गाई कहाँ जान्छ? हावा–आकाशमा त उड्दैन नि! अन्ततः सबै भारतमै पुग्छ।”
उनले आरोप लगाउँदै थपे कि गाई तस्करीका गतिविधिमा सम्सी प्रहरी, सशस्त्र र रघुनाथपुर सशस्त्र चौकीका अधिकारीहरूको मिलेमतो हुनसक्ने शंका छ, किनकि तस्करी निरन्तर भइरहेको छैन तर पक्राउ भने लगभग शून्य छ।
“सरकार बदलियो, तर प्रहरी व्यवहार बदलिएन” – स्थानीय किसान
स्थानीय किसानहरूले अहिलेको स्थितिलाई “पहिलेभन्दा पनि दयनीय” बताएका छन्।
एक किसानका शब्दमा:
“देशमा प्रधानमन्त्री बदलिन्छन्, गृहमन्त्री बदलिन्छन्, मन्त्रीहरू फेरिन्छन्। तर पर्साका प्रहरी र प्रहरी प्रमुख नै उही छन्। त्यसैले आमजनताले कुनै परिवर्तन महसुस गरेका छैनन्।”
उनीहरूका अनुसार प्रहरीको भूमिका जनताको सेवा होइन, त्रास सिर्जना गर्दै पैसा उठाउने यन्त्र जस्तै देखिन थालेको छ।
स्थानीयको माग: छानबिन र पारदर्शिता
स्थानीय बासिन्दा, व्यवसायी र किसान समुदायले सरकार र प्रहरी प्रशासनसँग निम्न माग गरेका छन्:
पर्सा प्रहरी चौकीका गतिविधिको छानबिन होस्।
सुरक्षाकर्मीहरूको कार्यशैली पारदर्शी बनाइयोस्।
तस्करी नियन्त्रणमा प्रभावकारी कदम चालियोस्।
साना व्यापारी र उपभोक्तामाथिको दमन रोकियोस्।
सीमा सुरक्षामा कडा निगरानी र प्रष्ट जिम्मेवारी निर्धारण गरियोस्।
तर तत्कालीन गृहमन्त्री रवी लामिछाने भएकाे समय गाई तस्करी नियन्त्रणमा आएका थिए तर अहिले सुरक्षा चुनाैती बढेका छन।








प्रतिक्रिया