जनकपुरधाम । धनुषा जिल्लाको जटही सीमा नाकाबाट पछिल्ला महिनाहरूमा अवैध तस्करी गतिविधि तीव्र रूपमा बढेको छ। मधेश प्रदेशको राजधानीसमेत रहेको धनुषामा केही ठूला तस्कर समूहहरूले आपसमा मिलेर छुट्टाछुट्टै रुट बनाएर संगठित तस्करी धन्दा सञ्चालन गरिरहेको बताइएको छ ।
जटही नाकाबाट ठूलो मात्रामा हुँदै आएको तस्करी सम्बन्धी गतिविधिबारे स्थानीय स्रोतहरूले केही व्यक्तिहरूको संलग्नता रहेको आशंका व्यक्त गरेका छन्। स्रोतका अनुसार तस्करीका कारोवारमा संलग्न भएको दाबी गरिएका व्यक्तिहरूमा उमेश, नरेश, बिरू गब्बर, सन्तुल्ला, रञ्जित र मनिष लगायतकाहरूको नाम बारम्बार उल्लेख हुँदै आएको छ।
जटही नाका तथा आसपासका नाकाहरूबाट अवैध तस्करीका गतिविधि तीव्र रूपमा भइरहेका छन्। सुरक्षा स्रोतहरूका अनुसार, सुल्तान मियाँ, बीरु र गब्बरको एउटा तस्कर समूह तथा नरेशको अर्को समूहले संगठित रूपमा तस्करी धन्दा सञ्चालन गरिरहेका छन्।सूत्रका अनुसार, सुल्तान मियाँको समूहले नेपालबाट ठूलो मात्रामा चाइनिज लसुनको अवैध निकासी गर्दै आएको छ। त्यसैगरी कोलगेट टुथपेष्ट, स्याउ, मटर–केराउ र रक्सी पनि भारततर्फ पठाइरहेका छन्। यसको बदला भारतबाट कपडा, हार्डवेयर र अन्य उपभोग्य वस्तु अवैध रूपमा नेपालमा ल्याइरहेको बताइएको छ।नरेशको समूहले मुख्य रूपमा भारतीय कपडा, चप्पल जस्ता वस्तु तस्करी गर्ने गरेको पाइएको छ। नामुद तस्कर उमेश साहले भारततर्फ चाइनिज लसुन, स्याउ, मटर, केराउ, मरिच र रक्सीको चोरी पैठारी गर्दै आएका छन्। त्यसैगरी, उनी भारतबाट कपडा, किराना, हार्डवेयर लगायतका सामान नेपालतर्फ अवैध रूपमा ल्याइरहेका छन् ।
भारतबाट अवैध रूपमा नेपाल भित्र्याइएका २४०० किलोभन्दा बढी काजु सशस्त्र प्रहरीले एक साताभित्रै धनुषाको जटही नाकाबाट बरामद गरेको छ। प्रस्तावित गण गुल्म जटहीदेखि करिब ३०० मिटरको दुरीमा छापामारी उक्त काजु फेला पारिएको हो।सशस्त्र प्रहरी बल नेपाल, ८ नं. गणबाट खटिएको टोलीले गोप्य सूचनाका आधारमा छापा मारेर काजु बरामद गरेको जनाइएको छ। गत मंसिर १५ गते पनि बिओपी जटहीदेखि करिब ३०० मिटर टाढा रहेको एक गोदामबाट १३७० किलो काजु बरामद गरिएको थियो।
जटहीस्थित सशस्त्र प्रहरी बलको प्रस्तावित गुल्मका डिएसपी तेजराज शर्माको सेटिङ र संरक्षणमा नै तस्करीको धन्दा सञ्चालन भइरहेको देखिन्छ। अन्यथा, उनको प्रत्यक्ष जिम्मेवारी क्षेत्रभित्र भइरहेको अवैध कारोबारको ठूलो परिमाणका सामानहरू गणको टोलीले बारम्बार बरामद गर्नु कुनै सामान्य कुरा होइन। स्थानीय स्रोतहरूका अनुसार इन्चार्जको निगरानी र अनुमति बिना यति ठूलो मात्रामा अवैध काजु नाकाबाट पार गर्न सम्भव नहुने बताइन्छ ।
डिएसपी शर्माले आफैंले बरामद गर्नुपर्ने अवस्थामा गणको टोलीले लगातार ठूलो परिमाणमा काजु समातिरहेको तथ्यले उनको संलग्नता वा कम्तीमा संरक्षण रहेको संकेत दिन्छ। जिम्मेवारी क्षेत्रमा भइरहेको गतिविधिबारे इन्चार्ज अनभिज्ञ रहनु व्यावहारिक रूपमा असम्भवप्रायः मानिन्छ। यसले उनले जानाजानी आँखामुनि भइरहेका तस्करी गतिविधिहरूलाई संरक्षण दिएको पुष्टि गर्छ भन्ने धारणा थप बलियो बनेको छ ।
डिएसपी तेजराज शर्मा इन्चार्ज रहेको सशस्त्र प्रहरी बलको प्रस्तावित गुल्म, जटही, क्षेत्रबाट एक साताभित्रै दोस्रो पटक अवैध काजु बरामद भएको छ। लगातार दुईपटक ठूलो परिमाणमा काजु पक्राउ परेपछि सो नाकाको सुरक्षा व्यवस्था मात्र होइन, डिएसपी शर्माको भूमिकामाथि पनि गम्भीर शंका उठ्न थालेको छ।धनुषाको मुख्य नाका—जटही—बाट रातोरात ठूलो मात्रामा अवैध काजु बरामद हुनु असामान्य मानिएको छ। मंसिर १५ गते मात्रै १,३७० किलो काजु बरामद भएको थियो, जसपछि डिएसपी शर्माको नेतृत्व र कार्यशैलीमाथि नै प्रश्न उठेको थियो।
त्यसपछि एक सातापछि मंसिर २२ मा सोही स्थानबाट फेरि १,०५० किलो अवैध काजु बरामद भएपछि डिएसपी शर्मा झनै विवादमा तानिएका छन्। घटनाहरू दोहोरिँदै गएपछि उनलाई प्रारम्भिक कारबाहीका लागि बाहिनी बोलाइएको सशस्त्र प्रहरी स्रोतहरूले बताएका छन् ।
यति मात्र होइन, दुई हप्ताभित्रै दोहोरिँदो रूपमा अवैध सामान बरामद हुनु, सुरक्षा संरचनाको कमजोरीभन्दा बढी, भित्री मिलेमतोको परिणाम भएको सुरक्षास्रोतहरूले बताइरहेका छन्। नाकामा कडाइ गरिएको दाबी भए पनि वास्तविक निगरानी कमजोर भएको, वा नियन्त्रक नै मिलेमतोमा भएको आशंका बढ्दै गएको छ। अब यस घटनाक्रमपछि डिएसपी शर्मामाथि कडा छानबिनको आवश्यकता रहेको आवाज उठ्न थालेको छ ।
सूत्रका अनुसार, तस्कर समूहहरूले मासिक रकम (महिनावारी) बुझाएर आफ्नो अवैध कारोबारलाई निर्बाध रूपमा चलाइरहेका छन्। यसकारण सुरक्षा निकायहरूले सीमामा नियमित गस्ती गरे तापनि तस्करी नियन्त्रण प्रभावकारी हुन सकेको छैन।
स्थानीयवासीले भने सीमावर्ती क्षेत्रमा तस्करीका कारण सामाजिक र आर्थिक समस्या बढ्दै गएको गुनासो गरेका छन्। अवैध कारोबारका कारण वैध व्यापार प्रभावित भएको, बजार मूल्य अस्थिर भएको र युवा पुस्ता तस्करी र अपराधसँग जोडिन थालेको देखिएको छ ।
विशेषज्ञहरूका अनुसार, जटही नाकाको भौगोलिक स्थिति, पर्याप्त निगरानीको अभाव र स्थानीय प्रशासनसँगको समन्वय कमजोर हुनुका कारण तस्करीका समूहहरूले सजिलै अवैध कारोबार गर्न पाएका छन्।सुरक्षा निकायले भने भन्सार छल्ने प्रयास गर्ने समूहलाई नियन्त्रणमा लिन गस्ती बढाइएको दाबी गरेको छ। तर, स्थानीयको अनुसार अझै पर्याप्त कडाइ, नियमित अनुगमन र प्रभावकारी कारबाही आवश्यक छ ।








प्रतिक्रिया