शम्भु पण्डित ,जनकपुरधाम । धनुषाको सबैला नगरपालिका वडा नम्बर ८ ठिल्ला स्थित रहेका गुरुकुल पाठशाला द्वारा व्यावसायिक सीप विकास गर्ने उद्देश्यले “बाल महोत्सव (बाल मेला)” कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ। विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रमले विद्यार्थीहरूमा उद्यमशील सोच, आत्मविश्वास तथा व्यवहारिक ज्ञान अभिवृद्धि गर्ने लक्ष्य राखेको थियो ।
साे कार्यक्रममा नर्सरीदेखि कक्षा ७ सम्मका विद्यार्थीहरूले विभिन्न स्टलहरू सञ्चालन गर्दै आफ्ना उत्पादन तथा सिर्जनाहरू प्रदर्शन गरेका थिए। विद्यार्थीहरू स्वयं व्यापारीको भूमिकामा प्रस्तुत भई खाद्य परिकार, हस्तकला सामग्री, शैक्षिक सामग्री तथा सिर्जनात्मक वस्तुहरूको बिक्री–वितरण गरेका थिए भने अन्य विद्यार्थी, अभिभावक तथा आगन्तुकहरू ग्राहकको रूपमा सहभागी भएका थिए ।
विद्यालय प्रशासनका अनुसार यस किसिमका गतिविधिले बालबालिकामा बचत गर्ने बानी, ग्राहकसँग संवाद गर्ने सीप, नाफा–नोक्सानको सामान्य ज्ञान तथा जिम्मेवारी बोध विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ। कार्यक्रममा अभिभावक तथा स्थानीय समुदायको उत्साहजनक सहभागिता रहेको थियो ।
साे कार्यक्रमको अन्त्यमा उत्कृष्ट स्टल तथा सक्रिय विद्यार्थीहरूलाई प्रशंसा–पत्र प्रदान गरिएको थियो। विद्यालयले आगामी दिनहरूमा पनि यस्ता व्यवहारिक तथा सिर्जनात्मक कार्यक्रमहरू निरन्तर सञ्चालन गर्ने प्रतिबद्धता जनाएको छ।







प्रतिक्रिया