शहिदनगर : स्वास्थ्यकर्मीहरुको भत्ता नदिएपछि हडताल, २४ सै घण्टा ईमरजेन्सी सेवा बन्द

न्यूज डेस्क     २०८० जेष्ठ २३, मंगलवार १४:०४ बजे मा प्रकासित


जनकपुरधाम । धनुषा जिल्लाकाे शहिदनगर नगरपालिकाका पूर्व मेयर उदय कुमार बरबरिया (यादव) को पालमा सँचालनमा आएको ईमरजेन्सी सेवा बन्द भएको छ ।

पूर्वी धनुषाका स्थानीय तहहरुमध्ये प्रथम पटक ग्रामिण भेकमा शहिदनगर नगरपालिका वडा नं. ३ यदुकूहास्थित प्राथमिक उपचार केन्द्रमा सँचालनमा आएको ईमरजेन्सी सेवा बन्द भएको छ ।

ईमरजेन्सीमा कार्यरत कर्मचारीहरुले अतिरिक्त भत्ता नपाएपछि उनीहरुले सेवा दिन बन्द गरेको हो । कर्मचारीहरुलाई विदाको दिनसहित २४ सै घण्टा खटाउँदा आउने भत्ता नदिएपछि उनीहरु हडताल गरेका छन् ।

शहिदनगर नगरपालिकाका वर्तमान मेयर दिनेश प्रसाद यादवलाई गत जेठ १० गते स्वास्थ्यकर्मीहरुले ज्ञापन पत्र बुझाउँदै विगत एक बर्षको अतिरिक्त भत्ता दिन माग गरेका थिए । ७ दिने अल्टिमेटम दिँदै अतिरिक्त भत्ताको माग गरेको थियो ।

गत २०७९ साल फागुन २२ गते तत्कालिन मेयर उदय कुमार बरबरिया, प्रमुख प्रशासकीय अधिकृत रामकिशोर महतोले ईमरजेन्सीमा काम गर्दा स्वास्थ्यकर्मी, कर्मचारीलाई २४ घण्टे सेवा र शनिबार तथा सार्वजनिक विदाको दिन समेत सेवा दिँदा अतिरिक्त भत्ताको सहमति भएको थियो । तर, वर्तमान मेयर दिनेश प्रसाद यादवले कर्मचारीहरुलाई भत्ता कटौति गरेपछि सेवा बन्द भएको हो ।

स्वास्थ्यकर्मीहरुले आफ्नो जिम्मेवारीभन्दा थप जिम्मेवारी नगर्ने अडान लिएपछि इमरजेन्सी सेवा बन्द भएको सोही अस्पतालमा कार्यरत एचए सँजीत यादवले जानकारी दिए ।

प्रतिक्रिया





Top