सिरहा । सिरहाका १९ वर्षीय कमलेश महरा र १८ वर्षीया नेहा कापरले प्रेम सम्बन्धमा रहेका भागेर बिहे गरे । २३ चैतमा भागेका उनीहरु अहिलेसम्म सार्वजनिक भएका छैनन् । तर गैरदलितको छोरी भगाएको भन्दै केटीपक्षले केटाको आमाको अपहरण गरेको छ।
सिरहाको मिर्चैया नगरपालिका–१ की ४५ वर्षीया राजकुमारी महरा मंगलबार बन्दीपुरस्थित भुल्केचोकबाट अपहरणमा परेकी थिइन् । कमलेशकी आमा राजकुमारीलाई बुधबार राति साढे ८ बजे अपहरण मुक्त गरिएको इलाका प्रहरी कार्यालय, मिर्चैयाले जनाएको छ ।
अपहरणमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेको छ । पक्राउ पर्नेमा कर्जन्हा नगरपालिका–१० की ललिता कापर, मनोज कापर र सुवेल अंशारी रहेको डीएसपी वस्नेतले बताएका छन् । ललिता, नेहा कापरकी आमा हुन् ।
प्रहरीका अनुसार राजकुमारी ट्याम्पुमा आफन्तसित धनुषाबाट आउँदै गरेको थाहा पाएपछि ललितासहित ८ जनाको समूहले अपहरण गरेका थिए ।
अपहरणमुक्त भएकी राजकुमारीका अनुसार अपहरण गरेर राति गाडीमा भारततिर लगेका थिए । प्रहरीले चेकजाँचका लागि रोक्दा आफूले अपहरण गरेर लगेको गुहार मागेको भएपनि उपचारको लागि लग्न लागेको भनेर ढाँटेका थिए । अपहरणको क्रममा आफूमाथि कुटपिट र यातना दिएको राजकुमारीले बताइन् ।
उनका अनुसार तल्लो जात दलितले आफ्नो छोरी भगाएको भन्दै केटी पक्षले निरन्तर तनाव दिने गरेको छ ।








प्रतिक्रिया