नेपाल प्रहरीका इन्स्पेक्टरको कहिले हुन्छ सरुवा

न्यूज डेस्क     २०८० श्रावण २८, आईतवार १९:३६ बजे मा प्रकासित


जनकपुरधाम, साउन २८ । नेपाल प्रहरीकाे नेतृत्व फेरिए पनि कतिपय निर्णयमा पूर्व प्रमुख धिरज प्रताप सिंह हावी भएको बताइन्छ ।

लामाे समय देखि सरुवाकाे दिन गन्ती गरेर बसेका इन्स्पेक्टर र सत्र वर्षमा बल्ल बल्ल बढुवा भएका इन्स्पेक्टरको सरुवा, पदस्थापनमा पूर्व प्रमुख सिंहका कारण ढिला भएको बताइन्छ । सिंह अवकास जानु भन्दा केहि समय अघि आफ्ना नजिकका इन्स्पेक्टरलाई ठूलाे स‌ंख्यामा काज सरुवा गरेर गएका कारण यतिखेर सरुवा र पदस्थापना गर्न कठिनाई भएको छ ।

वर्तमान प्रहरी प्रमुख वसन्त बहादुर कुँवरले गत शुक्रबार सरुवा र पदस्थापनाको तयारी गर्न कर्मचारी प्रशासनका प्रहरी उपरीक्षक (एसपी) अर्जुन तिमिल्सीनालाई निर्देशन दिए पनि त्यो निर्देशन दुई घण्टा वित्न नपाउँदै लागु हुन सकेन । कर्मचारी प्रशासनका कुनै कर्मचारीले काजमा गएका इन्सपेक्टरलाई सुचना चुहाएको हुन सक्ने अनुमान गरिएको छ । सरुवा गर्ने अन्तिम चरणमा पुगेको कुरा एकाएक रद्द हुनुमा पैसा बुझाएर गएका इन्स्पेक्टरले पूर्व प्रमुख सिंहलाई दबाव दिएर तत्कालका लागि रोकिएको थियो । दबाव पूर्व प्रमुख सिंहले नदिएर बुढानिलकण्ठ र धुम्बाराहीबाट आएको समाचार स्रोतको दाबी छ ।

नेपाल प्रहरीका प्रमुखलाई प्रहरी उपरीक्षक (एसपी) सम्म सरुवा गर्ने अधिकार भए पनि राजनीतिक नेतृत्वको दबाबका कारण इन्स्पेक्टरको सरुवा र पदस्थापना गर्न पनि फलामको च्यूरा चपाए सरह हुँदै आएको छ । लामो समय देखि इन्स्पेक्टरको सरुवा र बढुवा भएका इन्स्पेक्टरको किन पदस्थापना हुन सकेको छैन भनि प्रवक्ता कुवेर कडायतसँग जिज्ञासा राख्दा कुनै नियम कानूनमा यति दिनमै पदस्थापना गर्ने भन्ने नभएकाेले छिट्टै हुने बताए । प्रवक्ता कडायतले इन्स्पेक्टरको सरुवा दुईदिन पछि हुने र त्यसपछि यी सबै जिज्ञासा समाधान हुने पनि बताए ।

प्रतिक्रिया





Top