बिनोद निगम ,नवलपरासी । पश्चिम नवलपरासीमा नेपाली नागरिकता लिन खोजदा एक भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत महाराजगञ्ज जिल्लाका २० वर्षीय राहुल कुर्मी रहेका छन् । उनलाई प्रतापपुर गाउँपालिका वाड नं ६ कठहवाका गौरीशंकर कुर्मीले आफ्नो छोरा बनाएर नागरिकता दिलाउन खोजेका थिए । उनले वडा कार्यालयबाट आवश्यक पर्ने सिफारिस र अन्य सबै कागजपत्र बनाएर इलाका प्रशासन कार्यालय सेमरीमा नागरिकता लिन पुगेका थिए ।
नागरिकता बनाउन सेमरी पुगेपछि प्रशासनका कर्मचारीले शंका मानेर प्रहरी सर्जिमन गर्न पठाएपछि सर्जिमनमा स्थानीयले नक्कली छोरा राहुल गौरीशंकरका सालीका छोरा रहेको खुलेपछि पक्राउ गरेको हो । बुवा बनेका गौरी शंकरले केही महिनादेखि राहुललाई छोरा बनाएर नागरिकता दिलाउने प्रयासमा बाबु बनेर काजपत्र तयार गरेको स्थानीयले बताए । गौरीशंकरले भारतीय नागरिक साली र साडुको मृत्यु भएपछि सानै उमेरदेखि राहुललाई नेपाल ल्याएर पालेका थिए ।
राहुललाई जन्मदर्ताको प्रमाण पत्र गौरीशंकर आफैंले वडामा आएर छोरा हो भनेर सनाखत गरेपछि नागरिकताको सिफारिस दिइएको कार्यबाहक वडाध्यक्ष अवदेश यादवले बताए । यादवले कान्छा छोराको नागरिकता बनाउन आएका होलान भनेर सिफारिस दियौं। तर, राहुल भारतीय नागरिक रहेको बल्ल थाहा भयो कार्यबाहक वडाध्यक्ष यादवले भने। ,
पक्राउ परेका राहुललाई नागरिकतासम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान थालिएको छ । उनको बयानका आधारमा गैरनागरिकलाई नागरिकता दिलाउन खोजे र सिफारिस गर्ने सबै क्रमशः अनुसन्धानको दायरामा आउने जिल्ला प्रहरी कार्यालय नवलपरासीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक ( डिएसपी ) भोजराज पाण्डेयले बताए ।








प्रतिक्रिया