विवाहित छोरीको अविवाहित नागरिकता बनाउन खोज्दा एकजना पक्राउ

न्यूज डेस्क     २०८० भाद्र २०, बुधबार १५:४० बजे मा प्रकासित


सिरहा ।सिराहामा विवाहित छोरीको अविवाहित नागरिकता बनाउन खोज्दा एकजना पक्राउ परेका छन् ।

जिल्लाको नवराजपुर गाउँपालिका– ३ का अरबिन्दकुमार यादवले २२ वर्षीया छोरी सुनिताकुमारी यादवलाई अविवाहित नागरिकता बनाउन खोज्दा प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रशासन कार्यालय सिराहामा विवाहित भए पनि झुटो विवरण पेस गरी छोरीलाई नागरिकता बनाउन खोज्दा जिल्ला प्रशासन कार्यालयको निर्देशनमा प्रहरीले बुबालाई पक्राउ गरेको हो ।

जिप्रका सिराहाका सूचना अधिकारी भवेश झाले नागरिकता सनाखतको क्रममा विवाहित भएको पुष्टि भएपछि झुटो विवरणसहित सनाखत गर्ने बुबा अरबिन्दलाई पक्राउ गरिएको बताए ।

यस्तै, विवाहित छोरीलाई अविवाहित नागरिकताको सिफारिस गर्ने वडाध्यक्ष वंशीलाल यादवलाई समेत नियन्त्रणमा लिइने जिल्ला प्रशासन कार्यालय सिराहाले जनाएको छ ।

यस विषयमा थप छानबिन गर्नुपर्ने भएकाले वडाध्यक्षलाई पनि झिकाउने निर्देशन प्रजिअबाट प्राप्त भएको सूचना अधिकारी झाले बताए ।

सुनिताको सप्तरीको बोदेबर्साइन नगरपालिका– १० खडगपुरमा ०७८ फागुनमा सामाजिक परम्पराअनुसार विवाह भएको तथ्य प्राप्त भएको सूचना अधिकारी झाले बताए ।

प्रतिक्रिया





Top