एसियन गेम्समा कबड्डीतर्फ कास्य पदक बिजेता खेलाडीलाई विनोद चौधरीको सम्मान

न्यूज डेस्क     २०८० आश्विन २९, सोमबार ११:४४ बजे मा प्रकासित


विनोद निगम ,नवलपरासी । प्रतिनिधिसभा सदस्य एवं नेपाली कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीले चीनमा हालै सम्पन्न एसियाली खेलकुदमा कबड्डीतर्फ कास्य पदक जिताउने खेलाडीलाई सम्मान गरेका छन् । सोमबार नवलपरासीको बर्दघाटमा एक कार्यक्रमका बीच महिला कबड्डी टीमकी राष्ट्रिय खेलाडी सृजना कुमारी थारुलाई सम्मान गरेका हुन् । महिला कबड्डी टीमले एसियन गेम्समा पहिलो सहभागितामै पदक जितेर इतिहास रचेकोको हो ।

सांसद चौधरीको निर्वाचन क्षेत्र नवलपरासी १ की बासिन्दा थारु राष्ट्रिय महिला कबड्डीमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गर्ने एक मात्रै खेलाडी हुन् ।

पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका वडा न.२ प्रसौनी निवासी थारुलाई सांसद एवं प्रतिष्ठित उद्योगपति चौधरीले सम्मान गर्दै खेलजीवनको सफलताको शुभकामना दिए ।

“खेलमार्फत् नवलपरासी जिल्लालाई मात्रै नभएर सिंगो लुम्बिनीको प्रतिनिधित्व गर्दै नेपालकै नाम राख्न सफल भएकोमा खेलाडी थारुलाई सम्मान गर्न पाउँदा खुसी लागेको छ,” सांसद चौधरीले भने ।

नेपाली राष्टिय क्रिकेट टीमका कप्तान रोहित पौडेल पनि नवलपरासी बर्दघाटका हुन् । यसअघि सांसद चौधरीले कप्तान रोहितलाई पनि बर्दघाटमा सम्मान गरेका थिए ।

नवलपरासीको खेल क्षेत्रको विकासका लागि सांसद चौधरीले पूर्वाधार विकासदेखि खेलाडीका लागि आवश्यक खेलसामग्री उपलब्ध गराउदै आएका छन् ।

प्रतिक्रिया





Top